पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति

काठमाडौँ, ६ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले देशको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा पत्रकारिता जगत्ले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले आमसञ्चारमाध्यम लोकतान्त्रिक शासन प्रणालीका मेरुदण्ड भएकाल बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घरआँंगनसम्म पु¥याउन सत्तासीन शासन सञ्चालनमा बसेकाहरूलाई घच्घच्च्याएर लोकतन्त्रप्रति जनताको विश्वास  अभिवृद्धि गर्न तपाईंहरूले जिम्मेवार भएर काम गर्नुहुने मेरो विश्वास छ ।”

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अङ्गका रुपमा सम्मान प्राप्त भएको बताउनुभयो । “जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र राज्यको चौथो अङ्गका रुपमा पत्रकारिता जगत्ले पाएको सम्मानलाई जीवन्त राख्न सक्छ भन्ने म ठान्दछु”, उहाँले भन्नुभयो, “यसमा नेपाली पत्रकारहरू सचेत र सजग हुनुहुन्छ भन्ने लागेको छ, जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधारस्तम्भ हुन् ।”

उहाँले प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयम्ले निष्पक्ष, स्वतन्त्र तथा सिर्जनात्मक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“पत्रकारिताको विश्वसनीयता कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न काउन्सिलजस्ता निकाय स्थापना गरेर समयानुकल आचारसंहिता बनाउने तथा कार्यान्वयन भए–नभएको अनुगमन गर्ने जिम्मेवारी प्रदान गरिएको हो ।”

राष्ट्रपति पौडेलले सूचना प्रविधि र ‘इन्टरनेट’को विकाससँगै ‘अनलाईन न्यूजपोर्टल’ र सामाजिक सञ्जालको विकासले सूचना प्राप्तिको आम मानिसको चाहनालाई पूरा गर्न मद्दत गरेको बताउदै सत्यतथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण नै आमसञ्चार माध्यमको व्यावसायिक र प्राथमिक दायित्व भएको स्मरण गराउनुभयो ।

उहाँले ‘न्यू  मिडिया’ र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै तीव्र गतिमा सूचना सम्प्रेषण गर्ने प्रतिस्पर्धाले गलत सूचना प्रवाह हुनेतर्फ सचेत हुनुपर्ने आवश्यकता औल्याउँदै त्यसतर्फ प्रेस काउन्सिलजस्ता अनुगमनको जिम्मेवारी पाएका संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले काउन्सिललाई अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने लोकतन्त्रको मूल मान्यताप्रति गम्भीर बन्दै मिथ्या र गलत सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने अहिलेको चुनौतीको सचेत भएर सामना गर्न आह्वान गर्नुभयो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले पत्रकारिता क्षेत्रलाई सबल र सक्षम बनाउन     सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सधै गम्भीर रहेको बताउनुभयो । उहाँले  सञ्चार क्षेत्र पनि समस्यामा परेको उल्लेख गर्दै नीतिनियमविहीन अवस्थाको अन्त्यका लागि आफ्नो मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

“सबै किसिमका कानुनलाई व्यवस्थित गर्न काम गरिरहेका छाँै, तपाईंहरूका यथार्थपरक सुझाव जरुरी छन्” उहाँले भन्नुभयो, “जनता बलियो भए देश बलियो हुन्छ, राज्य बलियो भएन भने जनता बलिया हुन सक्दैनन्।”

नेपाल प्रेस इन्स्टिच्युटका तर्फबाट प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको पत्रकार तीर्थ कोइरालाले पत्रकारितालाई विश्वसनीय बनाउनका  प्रशिक्षण जरुरी भएको र त्यसमा ध्यान दिन सञ्चारमन्त्रीलाई आग्रह गर्नुभयो । 

 प्रेस काउन्सिल गोपालदास पत्रकार प्राप्त गर्नुभएका अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीले  छापा पत्रकारिता सङ्कटमा परेकाले त्यसलाई सङ्कटमुक्त गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्री सिग्देललाई प्रदान गरिएको थियो ।