छविलाल जोशी पक्राउ परेपछि रास्वपा केन्द्रीय कार्यालयमा आकस्मिक भेला

राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ। 

रास्वपा बागमती प्रदेशका सभापति डा अच्युतम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरूलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन्।

रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरू पार्टी कार्यालय बनस्थलीमा छन्। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशङ्का गर्दै रास्वपाले भेला डाकेको हो।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।रास्वपाले म्यासेजमा सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ। सहकारी ठगी प्रकरणमा आफ्ना सभापति मुछिएको बारे चाहिँ रास्वपाले बोलेको छैन।