एभरेस्ट महिला भलिबल लिग :  भारतकी जुही शाले गण्डकी थन्डर्सबाट भलिबल खेल्ने

 भारतीय महिला भलिबल खेलाडी जुही शाले एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूसीएल) को फ्रेन्चाइजी टिम गण्डकी थन्डर्सबाट भलिबल खेल्ने भएकी छन् ।

गण्डकीले शालाई आफ्नो चौथो विदेशी खेलाडीको रूपमा टिममा अनुबन्ध गरेको हो । भारतीय टोलीकी अनुभवी खेलाडीको रूपमा रहेकी शाले नेपालमा पनि भलिबल खेलेको अनुभव छ । 

सेटर शाले भर्खरै मात्र काठमाडौंमा काभा वुमन्स भलिबल नेसन्स लिगमा भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । करिब १५ वर्ष लामो भलिबल अनुभव भएकी शाले एभीसी च्यालेन्जर कप, काभा वुमन्स भलिबल लिग खेलेको अनुभव छ । उनले १५ भन्दा धेरै राष्ट्रियस्तरका खेलहरू खेलेकी छन् । 

शा काठमाडौंमा भएको काभा वुमन्स लिगको वेस्ट सेटर पनि घोषित भएकी थिइन् । गण्डकीले यसअघि दुई खेलाडी रुसबाट जुभियागिनसिभा र एलिसा रुबियक र भारतबाट शिल्पा सिन्धलाई अनुबन्ध गरेको थियो । 

आफ्नो चारजना विदेशी खेलाडी अनुबन्ध गरेपछि टिम मालिक सौरव केडियाले अब गण्डकीले उपाधिका लागि आफूलाई बलियो दाबेदारी दिने बताए । यता टिमका प्रबन्धक विकास खेतानले टिमको विदेशी खेलाडी अनुबन्ध कार्य सकिएको र अब गण्डकीले ट्यालेन्ट हन्टबाट चाँडै खेलाडी अनुबन्ध गरेर टिमको तयारीलाई पनि अघि बढाउने बताए ।