पकाउनु अगाडि चामल किन धुने ?

प्रायः मानिस भात पकाउनु अगाडि चामललाई राम्रोसँग पानीमा धुन्छन्, तर केही मानिस भने चामल नपखाली त्यसै पकाउँछन् । तर चामललाई पखालेर मात्र पकाउनु कतिको आवश्यक छ त अथवा चामल पखालेर पकाउनाले के फाइदा हुन्छ ?

हो यसमा सत्यता छ । किनभने जर्नल अफ हेजार्ड्स म्याटेरियलमा प्रकाशित २०२१ को एक अध्ययनका अनुसार भात पकाउनु अगाडि चामल धुनाले प्याकेजिङको क्रममा यसमा समावेश माइक्रोप्लास्टिक २० देखि ४० प्रतिशत कम हुन्छ ।

त्यस्तै व्यावसायिक रूपले उपलब्ध भएको चामल पखाल्नाले यसमा भएको आर्सेनिक सान्द्रता कम हुन सक्छ । यद्यपि यो भनाइको सीमित प्रमाण रहेको छ । 

आर्सेनिक प्राकृतिक रूपले माटो र पानीमा पाइन्छ । यसलाई विषाक्त मानिन्छ । त्यसैले चामलको विषाक्ततालाई कम गर्नका लागि चामल पकाउनु अगाडि पखाल्नुलाई एउटा राम्रो घरेलु उपाय मानिन्छ । त्यस्तै चामल पखालेर पकाउनाले च्याप–च्याप हुँदैन । यसका साथै फुड सेफ्टीको हिसाबले पनि सुरक्षित हुन्छ । यसका साथै चामल धुनाले यसमा लुकेका स–साना किरा पनि राम्रोसँग सफा हुन्छ ।