दसैँतिहारको लागी यही साताबाट सार्वजनिक यातायातको अग्रिम टिकट खुलाइने

दसैँतिहारको लागी यही साताबाट सार्वजनिक यातायातको अग्रिम टिकट खुलाइने भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा शनिबार व्यवसायीससहितको बैठकले चाडपर्वमा यात्रुको सुविधाको लागि ७ बुँदे सहमति गरेको हो।

मन्त्रालय र व्यवसायीबीच भएको सहमतिअनुसार घटस्थापना अगाडि नै सबै सडक मर्मत गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिइएको छ।

बैठकले बीपी राजमार्गका सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारीसाधन चलाउन  एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न गृह मन्त्रालय, नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलसम्म जाने गरी व्यवस्थित गर्ने, वैज्ञानिक भाडा समायोजन एक वर्षदेखि तथा इन्धनको मूल्यबाहेक अन्य कारणले गर्नुपर्ने भाडा समायोजन छठपछि गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, सहसचिव कृष्णराज पन्थ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सिटौला, महासचिव डेकनाथ गौतमलगायत सडक विभाग र यातायात व्यवस्था विभागका कर्मचारीको सहभागिता रहेको थियो। 

 

yatayat-dashai-tihar-1726993817.jpg