बङ्गलादेशविरूद्धको पहिलो टेस्टमा भारतले २८० रनको सहज जित

बङ्गलादेशविरूद्धको पहिलो टेस्टमा भारतले सहज जित निकालेको छ। आइतबार चौथो दिन जित निकाल्ने क्रममा भारतले बङ्गलादेशलाई २८० रनको फराकिलो अन्तले पराजित गर्‍यो। 

भारतले दिएको ५१५ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश दोस्रो इनिङ्ग्समा २३४ रनमै अलआउट भयो। उसका कप्तान नाजमुल हुसेन सान्तोले ८२ रन जोड्दा अन्य ब्याटरले उल्लेख्य रन बटुल्न सकेनन्। 

दोस्रो इनिङ्ग्समा बलिङमा भारतका रविचन्द्रन आस्विनले ६ विकेट लिए। यस्तै रविन्द्र जडेजाले ३ विकेट हात पार्न सफल भए। त्यसअघि दोस्रो इनिङ्ग्समा भारतले ४ विकेटको क्षतिमा २८७ रन बनाएर इनिङ्ग्स समाप्‍तिको घोषणा गरेको थियो। जसका कारण बङ्गलादेशले  ५१५ रनको लक्ष्य पाएको थियो। 

दोस्रो इनिङ्ग्समा भारतका लागि रिशव पन्तले १०९ रन र शुभमन् गिलले ११९ रन नर जोडे। 

बङ्गलादेश पहिलो इनिङ्ग्समा १४९ रनमै अलआउट भएको थियो। दोस्रो दिनको खेल नसकिदै बङ्गलादेश अलआउट भएपछि भारतले पहिलो इनिङ्ग्समा २२७ रनको अग्रता लिएको थियो।

बङ्गलादेशका लागि पहिलो इनिङ्ग्समा सकिब अल हसनले सर्वाधिक ३२ रन जोड्दा बलिङमा भारतका जसप्रित बुमराहले ४ विकेट लिए। मोहमद सिराज, आकास दीप र रविन्द्र जडेजाले २-२ विकेट लिए। 

भारत पहिलो इनिङ्ग्समा ३७६ रनमा अलआउट भएको थियो। चेन्नईमा बिहीबार सुरु भएको खेलमा भारतका रविचन्द्रन आस्विनले शतक गर्दै ११३ रन र रवीन्द्र जडेजा ८६ रनमा बनाए।


त्यसअघि भारतले खराब ब्याटिङ गरेको थियो। भारतविरूद्ध बङ्गलादेशका तीव्र गतिका बलर हसन मोहमुद एक्लैले सुरुवाती चार विकेट लिएका थिए। उनले भारतीय कप्तान रोहित शर्मालाई ६ रन, शुभमन गिललाई शून्य र विराट कोलहीलाई पनि ६ रनमा आउट गरे।

रोहितलाई हुसेन सान्तोबाट क्याच गराउँदा गिल र कोहली विकेटकिपर लिट्टन दासबाट क्याच भए। यी तीनै विकेट उनले सुरूवाती दश ओभरभित्रै लिएका थिए। 

यस्तै उनले चौथो विकेटको रूपमा रिशव पन्तलाई ३९ रनमा आउट गरे। पन्तको क्याच पनि विकेटकिपर दासले लिएका थिए। यस्तै भारतका ओपनर यसश्वी जैशवाल ५६ रन र केएल राहुल १६ रन बनाएर आउट भएका थिए।

पहिलो इनिङ्ग्समा हसनले ४ विकेट लिँदा टेस्किन अहमदले ३ विकेट लिए।