मोटरसाइकल दुर्घटना हुँदा २ किशोर घाइते

कञ्चनपुरमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई किशोर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका-४, गोबरैयामा म २ प ६७३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा भीमदत्त नगरपालिका-४, गोबरैयाका १९ वर्षीय आशिष चन्द र सोही ठाउँका १८ वर्षीय पवन चन्द घाइते भएका छन्।

तीमध्ये मोटरसाइकल चालक आशिषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अचेत अवस्थामा उद्धार गरिएका उनको टाउकोमा चोट छ।

मोटरसाइकलमा सवार अर्का घाइते पवनको अवस्थामा मध्यम छ। उनको पनि टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ। 

महाकाली प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि दुवै घाइतेलाई राति नै धनगढी रेफर गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार अहिले उनीहरुको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ।

महेन्द्रनगर बजार-मझगाउँ सडकखण्डमा गुँडिरहेको मोटरसाइकल शनिबार राति १० बजेतिर अनियन्त्रित भएर सडक छेउकै नालीमा बजारिएको थियो।