के के कारणले हुन्छ ग्याष्ट्रिक ?

काठमाडौँ, ५ असोज : ग्यास्ट्रिकसँग आम नेपालीलाई जोडिरहँदा यसको कारण बुझ्नु जरुरी छ । रिफ्लक्स डिजिजको मुख्यकारण एचपाइलोरी संक्रमण हो । एचपाइलोरी एक प्रकारको ब्याक्टेरिया हो, जुन धेरैजसो मानिसमा सानैदेखि हुन्छ ।

कतिपयमा यो सानैमा हटेर जान्छ वा रोग प्रतिरोधी क्षमताका कारण हराउँछ भने कतिपयमा रहिरहन्छ । नेपालीको हकमा ६० प्रतिशत जनसंख्यामा एचपाइलोरी रहेको अध्ययनहरूले देखाएका छन् । तर, ती ६० प्रतिशतमध्ये पनि प्रत्येक ६ मध्ये एकजनालाई मात्रै पछि गएर यसको असर देखन्छ । एचपाइलोरी संक्रमणकै कारण आमव्यक्तिमा रिफ्लक्सकाविभिन्न असरहरू देखिने गरेको छ ।

दोस्रो कारण नेपालीमा पेन किलरको असरले ग्यास्ट्रिकसम्बन्धी विभिन्न समस्या निम्त्याएको छ । त्यसमाथि धूमपान, मद्यपान र अन्य खानपानका कारण धेरैमा ग्यास्ट्रिकले सताएको पाइन्छ । तर, हामीले सुनेजस्तो सबैलाई यसले जटिल अवस्था निम्त्याएको छ वा पेटबाहेकका अन्य समस्या पनि ग्यास्ट्रिककै कारण देखिइरहेको भन्ने चाहिँ गलत हो ।

ग्यास्ट्रिकका कारणलाई जीवनशैली र खानपानसँग जोडेर आफ्नै तरिकाले व्याख्या गरेको पाइन्छ । के कस्ता कारणले हुन्छ त ग्यास्ट्रिक ? 

दूध र दूधजन्यपदार्थ बढी खाने व्यक्तिमा ग्यास्ट्रिकले धेरै सताएको पाइन्छ । यसबाहेक तारेको भुटेको, मसालेदार र दूषित खाना यसको अर्को कारक हो । यस्ता खनेकुराले पेटमा एसिडको मात्रा बढाइ माथि धकेल्ने काम गर्छ । त्यसभन्दा महत्त्वपूर्ण धूमपान मद्यपान गर्ने व्यक्तिमा रिफ्लक्सले धेरै सताउँछ ।

हाम्रो पेटलाई खाना पचाएर पूर्ण रूपमा खाली हुन लाग्ने समय चार घण्टा हो । यसबीचमा खाना पेटमा रही सानो आन्द्राबाट पाचन रसायनहरू आउने र पचाउने प्रक्रिया चल्दछ । एकैपटक धेरै खानेकुरा खाँदा यो प्रक्रियामा असर पुग्नजान्छ र खाना धेरैबेर पेटमा रहे रिफ्लक्सको समस्या पनि बढ्न जान्छ ।

ग्यास्ट्रिकको असर कतिसम्म देखिन्छ भन्न यसको कारण पत्ता लगाउनु जरुरी छ । माथि भनिएजस्तै एचपाइलोरी इन्फेक्सनका कारण समस्या बढिरहेको भए यसलाई एन्टिबायोटिक औषधिमार्फत् निको पार्न सकिन्छ । अन्य अवस्थामा सामान्यतः ग्यास्ट्रिकको समस्या ६ देखि आठ हप्ताको औषधि सेवनबाट निको हुन्छ । तर, कहिलेकाहीँ एचपाइलोरी इन्फेक्सनकै कारण व्यक्तिलाई अल्सर हुनजान्छ ।

अल्सर एक प्रकारको घाउ हो, यही क्यान्सरको कारण पनि बन्नसक्छ । यो रक्तनलीमा पर्न गएमा आन्तरिक रक्तश्राव हुने र अवस्था निकै जटिल बन्नसक्छ । त्यसैले ग्यास्ट्रिकका लक्षण देखिएका व्यक्तिले तुरुन्तै उपचारमा पुगी कारण पत्ता लगाउन जरुरी हुन्छ ।

विशेषगरी ४५ वर्ष कटेका व्यक्ति, जसलाई क्यान्सरको जोखिम बढी हुन्छ । त्यस्तै रगतको कमी भएका, खाना निल्दा अड्किरहने, पेटको समस्या लामो समयसम्म पनि ठिक नहुने दिशामा रगत देखिने जस्ता खतराका लक्षण हुन् । 

नचाहेरै तौल घट्नु पनि खतराको लक्षण हो, यदि तौल घटाउने उपायहरू नगरेको र साविककै खाना खाइरहेको अवस्थामा ६ महिनामा तीन केजीभन्दा बढी तौल घटेमा त्यस्ता व्यक्तिलाई विशेषज्ञकहाँ पुग्न सल्लाह दिन्छ ।