भारतीय अभिनेता प्रकाश राज फिल्म छायांकनका लागि नेपालमा

चर्चित भारतीय अभिनेता प्रकाश राज आफ्नो नयाँ साउथ चलचित्र ‘ज्याक’को छायांकनका लागि शनिबार अपरान्ह काठमाडौं आइपुगेका छन् ।

भिस्तारा एयरलाइन्सको विमानबाट दिल्ली हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई चलचित्रका नेपाल व्यवस्थापक सुरज आचार्य र चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले खादा लगाएर स्वागत गरेका हुन् ।

चलचित्र ‘ज्याक’को निर्देशन बोमारिल्लु भास्करले गरिरहेका छन् । यो सिनेमाको छायांकन ५ दिनदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भैरहेको छ । चलचित्रको ८० प्रतिशत छायांकन सम्पन्न भइसकेको र अझै २० दिनसम्म छायांकन चल्ने जनाइएको छ ।

अध्यक्ष लामाका अनुसार प्रकाश राज आइतबारबाट छायांकनमा जोडिनेछन् र १० दिनसम्म नेपालमै रहनेछन् । छायांकनका लागि नेपालका विभिन्न स्थान चयन गरिएको छ, जसमा काठमाडौं उपत्यकाका ऐतिहासिक स्थलहरू प्रमुख छन् ।

चलचित्रको निर्माण वेंकटेश्वर सिने चित्रले गरिरहेको छ भने नेपालमा छायांकन व्यवस्थापनको जिम्मा सुरज आचार्य, अरुण रेग्मी र सुरेश अधिकारीको कम्पनी थ्री ह्विलर्सले लिएको छ ।

यसअघि नेपालमा छायांकन वा भ्रमणका लागि ज्योतिका सरवनन, प्रदीप रावत, सुनिल वर्मा, कबीर दुहान सिंह, आशिष विद्यार्थी, बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी, निर्देशक एवं अभिनेता अनुराग कश्यप, र अभिनेत्री तारा सुतरिया जस्ता भारतीय सेलिब्रेटीहरू नेपाल आएका थिए ।

पछिल्लो समय नेपालका सुन्दर लोकेसन र ऐतिहासिक स्थलहरू विदेशी सिनेमा छायांकनका लागि आकर्षणको केन्द्र बन्दै गएका छन् ।