‘बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौँ’

 काठमाडौँ, ५ असोज : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

६०औँ राष्ट्रिय बाल दिवस २०८१ को उपलक्ष्यमा आज यहाँ आयोजित बालमेला तथा प्रतिभा प्रस्फुटन र सांस्कृतिक कार्यक्रममा उहाँले बालबालिकाको रुचि अनुसारका कार्यक्रम वडा समितिमार्फत पेस गर्न आग्रह गर्नुभयो । “बालबालिकाको हक अधिकार कुण्ठित गर्न चाहँदैनौँ, बाल प्रतिभा प्रस्फुटनका कामलाई जोड दिन्छौँ, बजेट तर्जुमा गर्दा प्रत्येक वडाले बालविकासका लागि बजेट छुट्याउनुपर्ने व्यवस्था रहेको छ, यसलाई हामीले व्यवस्थित ढङ्गले लागू गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले ललितपुर महानगरका २९ वडाले बजेट विनियोजन गरेर बालअधिकारको विषयमा प्रयोगात्मक र व्यावहारिक काम गरेको बताउनुभयो । उहाँले बालबालिकाका क्षेत्रमा काम गर्नेमा ललितपुर महानगर अग्रपङ्क्तिमा रहेको भन्नुहुँदै बालबालिकाको हितमा काम गर्न आगामी दिनमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महानगरका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले बालबालिकाले मोबाइल र टेलिभिजनमार्फत रचनात्मक कुराहरु सिकेर प्रतिभा प्रस्फुटन हुने अवस्था रहेकाले त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । महानगरस्तरीय बाल क्लब सञ्जालका प्रार्थना श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो ।