अल्जाइमर रोग न्यूनीकरणका लागि सरकार र समुदायको सहकार्य आवश्यक

 काठमाडौँ, ५ असोज : अल्जाइमर (बिर्सने) रोगको न्यूनीकरणका लागि सरकार र समुुदायको सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ ।

विश्व अल्जाइमर दिवसका अवसरमा आज पोखरा वृद्धाश्रमद्वारा यहाँ आयोजित कार्यक्रममा मनिपाल शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा देवेशचन्द्र घिमिरेले घरपरिवार, समुदाय एवम् सरकारको सहकार्यमा यसको न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले यस रोगका बारेमा विभिन्न भ्रम रहेकाले यो पूर्व जुनीको पाप वा सरुवा रोग नभएको स्पष्ट पार्नुभयो । 

कार्यक्रमका स्रोतव्यक्ति घिमिरेले बिर्सने रोगको तथ्याङ्क नेपालमा विश्वसनीय नरहे पनि संयुक्त राज्य अमेरिकामा यो डरलाग्दो ढङ्गले बढेको बताउनुुभयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका केन्द्रीय सचिव तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले अल्जाइमर रोगको न्यूनीकरण तथा उपचारका लागि सरकार र समुदाय मिलेर काम गर्नुपर्ने बताउनुुभयो ।    

उक्त अवसरमा मनिपालमा अध्ययनरत विद्यार्थी विशेष श्रेष्ठ र उहाँको समूह, शुक्लेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अलकापुरका अध्यक्ष विष्णुहरि सापकोटा पूर्वशिक्षक बुद्धि गिरी लगायतले रोट्र्याक संस्थामार्फत जनचेतना जगाउने नाटक मञ्चन गर्नुुभएको थियो ।

कार्यक्रममा गण्डकी ज्येष्ठ नागरिक सङ्घका उपाध्यक्ष धर्मबहादुर गुरुङ, आश्रमका कोषाध्यक्ष भीमप्रसाद सुवेदी, अलकापुर ज्येष्ठ नागरिक दिवासेवाका अध्यक्ष ढकाल, सिद्धिकुमार रेग्मी, थेरापिष्ट शान्ता अधिकारीलगायतले अल्जाइमर समस्या र स्याहारबारे धारणा राख्नुभएको थियो । गण्डकी प्रदेश र पोखराका ज्येष्ठ नागरिकसँग सरोकार राख्ने सङ्घसंस्थाहरु साथै चिकित्सक, नर्स, स्वयम् ज्येष्ठ नागरिकहरूको सहभागिता थियो ।