वाग्द्वारबाटै वाग्मतीको सफाइ गरिनुपर्ने

 काठमाडौँ, ५ असोज : वाग्मती नदीको मुहानस्थलमै फोहर बढ्न थालेकाले तलमात्र सफाइ गरेर काठमाडौँ उपत्यकाका नदी सफा नहुने सरोकारवालाले बताएका छन् । वाग्मती सफाइ महाअभियानको पाँच सय ९३ औँ हप्ताका अवसरमा आज सुन्दरीजलमा आयोजित नदी सफाइ एवं सम्वाद कार्यक्रमका वक्ताले सो विषयमा ध्यानाकर्षण गराएका हुन् । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन विभाग प्रमुख कल्याणकुमार गुरुङले संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हक दिएकाले यसको कार्यान्वयनका लागि सफाइ स्रोतमै गरिनुपर्ने बताउनुभयो ।

वाग्मतीको मुहानदेखि नै सफाइका लागि पार्टीले कार्यक्रम बनाउने जानकारी पनि उहाँले गराउनुभयो । पानीको बोत्तल खोलेर आउने प्लाष्टिकलगायत फोहरको व्यवस्थापन सम्बन्धित व्यक्तिले नै गर्नुपर्ने उहाँको भनाइ थियो । वातावरण र जलवायु परिवर्तन मानिसको भविष्यसँग जोडिएको विषय भएकाले काम पनि त्यसै अनुसार हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सांसद निशा डाँगीले वाग्मतीलाई पहिलेकै अवस्थामा लैजाने गरी सफाइ अभियान चलाइनुपर्ने बताउनुभयो । बोलेरमात्र काम नहुने भएकाले काम गरेरै देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले वाग्मती सफाइका लागि २४ वर्षअघिदेखि नदी महोत्सवलगायत जनचेतनाका काम गर्दै आएको जानकारी दिनुभयो । फोहरलाई स्रोतमै व्यवस्थापन, ढल नमिसाउने, पानीको बहाव बढाउने, कानुन कार्यान्वयन गर्ने गरी व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ थियो ।

बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले वाग्मती वाग्द्वारदेखि नै फोहर भएकाले मुहानदेखि नै सफाइ अभियान चलाउनुपर्ने बताउनुभयो । असार १ गते वाग्द्वार क्षेत्रमा सफाइ गरी तीन बोरा फोहर सङ्कलन गरिएको पनि उहाँले सुनाउनुभयो । वाग्द्वारदेखि नै वाग्मती सफाइ गर्ने गरी आगामी कार्यक्रम अघि बढाइनुपर्नेमा पोखरेलको जोड थियो ।

अन्तर्राष्ट्रिय जल व्यवस्थापन इष्न्टिच्युट नेपालका राष्ट्रिय प्रतिनिधि डा मनोहरा खड्काले संस्थाले भविष्यका लागि जल सुरक्षा विषयमा ४० वर्षदेखि काम गर्दै आएको बताउनुभयो । भविष्यका लागि जल सुरक्षा विषयमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको उहाँले सुनाउनुभयो । पानी नहुँदा संस्कारमा पनि प्रभाव पर्ने भएकाले पनि नदीको संरक्षण गरिनुपर्ने खड्को भनाइ थियो ।

वाग्मती सफाइ महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले पशुपति क्षेत्रको वाग्मतीमा धेरै फोहर निस्कने गरेको उल्लेख गर्नुहुँदै त्यसको व्यवस्थापन हुन नसकेको बताउनुभयो । पाँच सय ९३ हप्तासम्म वाग्मती सफाइ गर्दा पनि स्थानीय सरकारबाट सफाइमा सहयोग हुन नसकेको उहाँको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका डा दीपनारायण साहले सन् २०१५ देखि नै वाग्द्वारबाट वैरगनियासम्मको वाग्मती नदीको जलका विषयमा अध्ययन अनुसन्धान गर्दै आएको जानकारी गराउनुभयो । सन् २०२३ सम्म पाँचपटक २० वटा प्यारामिटरमा अध्ययन गरिएको उहाँले सुनाउनुभयो । खोलामा आश्रित चारका बारेमा गरिएको त्यो अध्ययन अनुसार नदीमा प्रदूषणको मात्रा जङ्गली क्षेत्रसम्म बढ्दै गएको भेटिएको अनुसन्धाता साहले सुनाउनुभयो ।

वन इकोलोजी वल्र्डका राजीव पौडेलले विकासलाई दिगो हुने दृष्टिकोणले नहेरी सतही रूपमा हेर्दा वातावरण विनाश भइरहेको बताउनुभयो । सुन्दरीजल क्षेत्रमै धेरै ठाउँमा सिधै ढल वाग्मतीमै हाल्दा नदी सभ्यता धरापमा परेको उहाँले जानकारी गराउनुभयो ।

नदी संरक्षण संस्थाका कार्यकारी निर्देशक मौसम खनालले २०७१ चैत २८ गतेदेखि वाग्मतीको मुहानदेखि भारतको सीमासम्मको नदीको जलका बारेमा अध्ययन, अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पत्रकार सुरेन्द्र फुयाँलले गोकर्णेश्वर नगरपालिकाले जापानबाट ल्याएको फोहर जलाउने यन्त्र त्रिभुवन विमानस्थलको नजिक राख्दा नेपाल नागरिक उड्ययन प्राधिकरणले हटाउन भनिरहेको सुनाउनुभयो ।

नेटिफका अरुण श्रेष्ठले सुन्दरीजलस्थित घाट वरपर डष्टविन नराख्दा नदी बढी फोहर भएको देखिएकाले आफूले व्यक्तिगत रुपमा ओख्रेनी माध्यमिक विद्यालयको इको क्लबले व्यवस्थापन गर्ने दुई वटा डष्टविन उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । संस्कृति र प्रकृतिको संरक्षणमा आफूले काम गरेको उहाँले सुनाउनुभयो ।

ओखरेनी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईले नदीलाई पनि समुदायसँग जोडेर लगे सफाइमा सहयोग पुग्ने विचार राख्नुभयो । विद्यालयको इको क्लबका नारायण घिमिरेले वाग्मती सफाइ र हेरचाह गरे सरस्वतीको जस्तो बुद्धि हुन्छ भन्ने विश्वासका साथ आफूहरु वाग्मती सफाइमा जुट्ने गरेको बताउनुभयो ।

विद्यालयको बाल क्लबका मनिता तामाङले विद्यालयको वार्षिक कार्य योजनामा वाग्मती सफाइ पनि राखेर सफाइ अभियानलाई सहयोग गरिएको जानकारी गराउनुभयो ।