अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली विवेक थिङ दोश्रो

 

युरोपको हंगेरी स्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली विवेक थिङले उत्कृष्ट प्रदर्शन गरेका छन्।

विवेकले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गरे । योसँगै सिएम विवेकले नौ चरणको खेलबाट ८ अंक प्राप्त गर्दै दोश्रो स्थानमा प्रतियोगिताको अन्त्य गरेको नेपाल बुद्धिचाल महासंघकाले जनाएको छ । उनले ३ सय युरो पुरस्कार प्राप्त गरे। 

‘नेपाल बुद्धिचाल महासंघले गर्दा सहभागी हुने मौका पाए।‌ दोश्रो स्थान प्राप्त गरे । थोरै भएपनि राज्यले लगानी गरिदिए जस्तोसुकै खेलमा राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने आत्म विश्वास छ’, विवेकले पदक जितेपछि भने। 

अस्ट्रेलियबाट सहभागिताका लागि हंगेरी पुगेका   उनले थपे, ‘  यो जित मेरो आमाबुबामा समर्पित गर्न चाहन्छु। चेस ओलम्पियाड सबैभन्दा बलियो चेस प्रतियोगिता हो। भिसाका कारण नेपालबाट अन्य खेलाडीले भाग लिन पाउनु भएन। त्यसमा दुःख लागेको छ।’

तेश्रो चरणमा विवेकले पराजित गरेका हंगेरियन आइएम मेस्जारोस् आन्द्रासले समान ८ अंक बटुल्दै बुकोल्ज र प्रोग्रेसिभ अंक ३७.५ को आधारमा विजेता बनेका हुन् । विवेकको ३६.५ प्रोग्रेसिभ अंक रहेको छ।

विवेकको अन्तर्राष्ट्रिय रेटिङ २२८२ रहेको छ । उनले यो‌ प्रतियोगिताबाट १७  रेटिङ वृद्धि गर्दै आफ्नो २२९९ क्लासिकल रेटिङ बनाउन सफल भएका छन्। यसै प्रतियोगिता मार्फत २३५२ रेटिङ पर्फोमेन्सको खेल खेल्दै चौथो चरणमा २३०० रेटिङ छुन विवेक सफल भएका थिए।

अब विवेकले विश्व बुद्धिचाल महासंघमा एप्लाई गरेपछि रेटिङका आधारमा नेपालका पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने भएका छन्। 

विश्व बुद्धिचाल महासंघको आधिकारिक कुनै एक प्रतियोगिता मार्फत ६६% अंक जोडेर यस अघि मनिष हमाल, विलमलाल श्रेष्ठ, सुजेन्द्र प्रसाद श्रेष्ठ, रुपेश जैसवालले एफएम टाइटल प्राप्त गरिसकेका छन्।