दिल्लीको मुख्यमन्त्रीका रूपमा आप नेता अतिशीद्वारा सपथ ग्रहण

काठमाडौँ, ५ असोज ;  आम आदमी पार्टी (आप) की नेतृ आतिशी मार्लेना सिंहले शनिबार राज निवासमा आयोजित समारोहबीच दिल्लीको मुख्यमन्त्रीका रुपमा सपथ लिनुभएको छ । 

आपका नेताहरू सौरभ भारद्वाज, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र मुकेश अहलावतले पनि आतिशी नेतृत्वको दिल्ली सरकारमा मन्त्रीपरिषद्को सदस्यका रुपमा सपथ लिएका छन् ।

सुष्मा स्वराज र शीला दीक्षितको पाइला पछ्याउँदै ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्नुभएको हो । 

आम आदमी पार्टीकी एक प्रमुख नेता आतिशीले पूर्व शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकारको रूपमा रहँदा दिल्लीका सरकारी विद्यालयहरूमा शिक्षा सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । 

निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुपरेकोमा दुःखी भएको तर आफूमाथि आप नेताले गरेको विश्वासबाट आफू खुसी भएको सपथपछि नेतृत्व परिवर्तनबारे बोल्दै आतिशीले बताउनुभएको छ। 

उहाँले आफ्नो पदबाट राजीनामा दिएकोमा दुःखी भएको बताउनुभएको छ । सञ्चारमाध्यमसँग कुरा गर्दै उहाँले आगामी विधानसभा चुनावपछि केजरीवाललाई मुख्यमन्त्रीको रूपमा फिर्ता ल्याउन आफूले कडा मेहनत गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सबैभन्दा पहिले म दिल्लीका लोकप्रिय मुख्यमन्त्री, आम आदमी पार्टीका राष्ट्रिय संयोजक र मेरा गुरु अरविन्द केजरीवाललाई धन्यवाद दिन चाहन्छु। उहाँले मलाई यति ठूलो जिम्मेवारी दिनुभयो र यसका लागि मलाई विश्वास गर्नुभयो।”

नवनियुक्त मुख्यमन्त्री आतिशीले भन्नुभयो, “यो नेता केजरीवालको नेतृत्व र आम आदमी पार्टीमा मात्र गर्न सकिन्छ । पहिलो पटक राजनीतिज्ञ भएको व्यक्ति राज्यको मुख्यमन्त्री बन्छ । म सामान्य परिवारबाट आएको हुँ । यदि म अन्य कुनै पार्टीमा भएको भए सायद मलाई चुनावको टिकटसमेत दिइने थिएन।”

आम आदमी पार्टी (आप) का विधायक मुकेश अहलावतले भन्नुभयो, “अरविन्द केजरीवाल र बाबा साहेबका कारण मजस्ता व्यक्ति मन्त्री बनेका हुन् । हाम्रो प्राथमिकता दलित र पिछडिएका समुदायका लागि काम गर्ने हुनेछ। हामीले सम्भव भएसम्म दलित र पिछडिएका समुदायको हक र हितका लागि काम गर्नेछौँ।

नेतृत्व परिवर्तन र दलको आगामी कार्यदिशाबारे आम आदमी पार्टीका नेता तथा दिल्लीका मन्त्री कैलाश गहलोतले भन्नुभयो, “पार्टीको राष्ट्रिय संयोजकको रूपमा अरविन्द केजरीवालको मार्गदर्शन रहिरहनेछ। हाम्रो एक मात्र लक्ष्य दिल्लीका जनताका लागि पहिलेजस्तै काम गरिरहनु र अरविन्द केजरीवाललाई फिर्ता ल्याउनु हो।”

आतिशीले हाल दिल्ली विधानसभामा कालकाजी निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्नुहुन्छ र दिल्ली सरकारका धेरै जिम्मेवारी हेरिसक्नुभएको छ । उहाँ सन् २०२३ मा दिल्ली सरकारको मन्त्रीपरिषद्मा सामेल हुनुभएको थियो। उहाँले नै आगामी विधानसभा चुनावको तयारीका लागि आम आदमी पार्टी (आप) को नेतृत्व गर्नुहुनेछ ।