बाँकेको खजुरामा मानिसमाथि आक्रमण गर्ने बाघको खोजी गर्न हात्तीसहितको टोली परिचालन

बाँकेको खजुरा गाउँपालिकास्थित मानखोला जङ्गल आसपासको क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षतिका घटना हुन थालेपछि बाघलाई नियन्त्रण गर्न हात्तीसहितको टोली परिचालन भएको छ । 

ईलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार बाँके राष्ट्रिय निकुञ्जका २ वटा हात्तीसहित सुरक्षाकर्मी र स्थानीय बासिन्दा बाघको खोजीमा जुटेका छन् ।  बाघको खोजीका लागि डिभिजन वन कार्यालय बाँके र बर्दियाको २ वटा खोरसहित प्राविधिक टोली जङ्गली क्षेत्रमा बाघको खोजीका लागि परिचालन भएको छ । 

बाघको खोजीका लागि वन क्षेत्रमा क्यामेरा समेत जडान गरिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । प्रहरी निरीक्षक केसीले भन्नुभयो, ‘जङ्गलका विभिन्न स्थानमा बाघका पाइला पहिचान गरिएको छ, तीन दिनदेखि खोजी कार्य जारी छ ।’

यसअघि आइतबार खजुरा गाउँपालिका –६ सिमलघारीका वीरेन्द्र पुनकी ३ वर्षीया छोरी लक्ष्मी पुनको बाघको आक्रमणबाट ज्यान गएको थियो । घरबाटै बेपत्ता बालिकाको मङ्गलबार बिहान घरनजिक रहेको जङ्गलबाट शव फेला परेको थियो । सिमलघारीमा गिजरा सामुदायिक वन रहेको छ । 

बाँकेको राप्ती–सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा पटक–पटक बाघको आक्रमणमा मानिसको ज्यान जाने गरे पनि निकुञ्जभन्दा टाढा रहेको खजुरामै बाघले घरबाटै बालिकालाई आक्रमण गरेपछि स्थानीय बासिन्दा त्रषित भएका छन् । 

खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले बाघ–चितुवा नियन्त्रणका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा वन डिभिजनको सहयोग लिइएको जानकारी दिनुभयो ।