राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न ७ वटै प्रदेशमा ‘कारा’ चलचित्रको च्यारिटी शो आयोजना गरिने

 वैज्ञानिक महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न देशभरका ७ वटै प्रदेशमा ‘कारा’ चलचित्रको च्यारिटी शो आयोजना गरिने भएको छ ।

बुटवलमा असोज ७ गते हुने पहिलो शो लायन्स क्लब अफ बुटवल, र Adverseek Media को संयुक्त आयोजनामा बुटवलको भाटभटेनीमा रहेको क्यूएफएक्स हलमा हुनेछ ।

विशेष कुरा यो हो कि चलचित्र ‘कारा’को च्यारिटी शो यसको आधिकारिक प्रदर्शन हुनुअघि नै आयोजना गरिदैँछ । चलचित्र विकास बोर्डले ‘कारा’ लाई च्यारिटीका लागि विशेष अनुमति दिएको छ, जसअन्तर्गत यो चलचित्रलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग पुर्‍याउन सामाजिक अभियानको रूपमा प्रयोग गर्न पाइनेछ ।

लायन्स क्लब अफ बुटवलका अध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठकाअनुसार च्यारिटी शोबाट उठेको सम्पूर्ण रकम पुनले सुरु गरेको विरगञ्ज कृषि औजार कारखाना अभियानलाई सहयोग गरिनेछ ।

‘कारा’ माओवादी सशस्त्र द्वन्द्वकालको पृष्ठभूमिमा आधारित छ, जसले दुई भाइ-बहिनीको संघर्षपूर्ण कथा प्रस्तुत गर्दछ ।

Adverseek Media का च्यारिटी परियोजनाका प्रमुख विकास भण्डारीका अनुसार यो चलचित्र सामाजिक परिवर्तनको सन्देश दिन र महावीर पुनको अभियानलाई जनस्तरमा पुर्‍याउन च्यारिटी शोको रूपमा देशभर प्रदर्शन गरिनेछ ।

भण्डारीले भने, “यो च्यारिटी शो केवल मनोरञ्जनको लागि मात्र नभई सामाजिक जागरूकता फैलाउन र परिवर्तनको उद्देश्यले आयोजना गरिएको हो । महावीर पुनको अभियानलाई साथ दिन ७ वटै प्रदेशमा च्यारिटी शोहरू गरिनेछन् ।”