उपसभापति गुरुङमाथि छानबिन सुरु भइसक्याे, दोषी देखिए जेल जान्छन् : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति धनराज गुरुङ दोषी देखिए जेल जाने बताएका छन् ।

कांग्रेस झापा-काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले उपसभापति गुरुङमाथि छानबिन सुरु भइसकेको बताउँदै दोषी देखिए जेल जाने बताएका हुन् ।

उनले नयाँ दल भन्नेहरुले जस्तो आफूहरुले छानबिन गर्न हुँदैन नभन्ने भन्दै भने, ‘उहाँमाथि छानबिन सुरु भएको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लाग्दैन । सीआईबीले छानबिन गरिरहेको छ । निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ ।’

त्यस्तै, उनले निर्वाचनमा पपुलर भोट ल्याउने पार्टीले सरकार चलाउनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । शर्माले स्थिर सरकार नभई जनतामा देखिएको निराशा भत्काउन नसकिने बताए ।

उनले २७५ सदस्यीय प्रतिनिधिसभालाई १८५ मा झार्नुपर्ने बताए । महामन्त्री शर्माले भने, ‘सरकारको नेतृत्व गर्ने अधिकार सीटमा मात्रै होइन, पपुलर भोट जसले बढी ल्याएको हुन्छ, त्यसलाई हुन्छ । त्यस्तो भए पनि हामीले अहिले जस्तो दोस्रो, तेस्रो, चौथोलाई फकाएर, गाँसेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । हामी दोस्रो भयौं भने हामी पनि ५ वर्षसम्म सरकार बाहिर बस्छौं । २० सीट छ, समर्थन गर्न गृह मन्त्रालय चाहियो । यस्ताका दिन सकिन्छ, त्यो व्यवस्था गर्न सकेपछि ।’