आफ्नै घरमा ससुरा मृत फेला, ज्वाईं फरार

मोरङको पथरीमा एक पुरुष घरमै मृत अवस्थामा भेटिएका छन् । पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको हो ।

प्रहरीका अनुसार शनिबार विहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको छ ।

घरमा चन्द्रबहादुर र उनको ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई बस्दै आएका थिए । घटनापछि रविन फरार छन् । चन्द्रबहादुरकी श्रीमती र छोरी (रविनकी पत्नी) वैदेशिक रोजगारीमा छन् । घरमा भने ज्वाईं ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुरालीको छेउमै छ । प्रहरीका अनुसार शुक्रबार राति घरमै मदिरा सेवन ज्वाईं ससुराबीच विवाद भएको थियो । विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।