भारतको सर्वोच्च अदालतको आधिकारिक युट्युब च्यानल ह्याक

छिमेकी देश भारतको सर्वोच्च अदालतको आधिकारिक युट्युब च्यानल शुक्रबार ह्याक भएको छ ।

रिपोर्टका अनुसार, च्यानलमा एक्सआरपी क्रिप्टोकरन्सीको विज्ञापन देखिन्थ्यो। च्यानलमा ‘पृष्ठ अवस्थित छैन’ भन्ने सन्देश देखाइँदै थियो।

भारतीय सुप्रिम कोर्टको सुनुवाइहरु युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण गरिन्छ। रिपोर्टका अनुसार ह्याकरहरूले सर्वोच्च अदालतको युट्युब च्यानलमा अपलोड गरिएका भिडियोहरू पनि निजी बनाएका छन्।

च्यानलमा ‘एक्सआरपी’ नामक क्रिप्टोकरेन्सीको भिडियो लाइभ गरिएको बताइएको छ। यस विषयमा सर्वोच्च अदालतका अधिकारीहरूबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। घटना शुक्रबार बिहान सार्वजनिक भएको हो। जानकारीका अनुसार सर्वोच्च अदालतको आईटी टोलीले सरकारी निकाय एनआइसीसँग यस विषयलाई सम्बोधन गर्न मद्दत मागेको छ।

युट्युब च्यानल ह्याक भएको यो पहिलो घटना होइन। ह्याकरहरूले यसअघि पनि विश्वभरका सेलिब्रेटीहरूलाई निशाना बनाउँदै आएका छन् र संस्थाहरुलाई पनि लक्षित गरेको छ।

अमेरिकी फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) को रिपोर्ट अनुसार गत वर्ष क्रिप्टोकरेन्सीसँग सम्बन्धित ठगीका घटनामा ४५ प्रतिशतले वृद्धि भएको छ। यी ठगीका कारण व्यापारीहरूले ५.६ अर्ब डलर भन्दा बढी घाटा बेहोर्नुपरेको थियो।