नेपाल प्रिमियर लिगको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरेको छ। क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत दर्ता खुला गरेको हो। अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइन मार्फत नाम दर्ता गर्न सक्नेछन्।

अक्सनमा 'ए', 'बी' र 'सी' ग्रेडमा दर्ता गर्न सकिनेछ। ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ। उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ। एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एक भन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा थुतिने क्यानका प्रवक्ता छुम्बी लामाले बताए।

बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ। बी ग्रेडका खेलाडीको उच्चतम् मूल्य १० लाख सम्म पाउनेछन्। १० लाख भन्दा बढी भएमा चिट्ठा थुतिने छ। त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ। बढीमा ५ लाखसम्म जानेछ। त्यसपछि चिट्ठा थुतिने छ।

खेलाडीलाई दर्ता गर्न एक हजार शुल्क लाग्नेछ। दर्ताको अन्तिम समय असोज १२ सम्म राखिएको छ।