इजरायली आक्रमणमा एक हिजबुल्लाह शीर्ष कमाण्डर मारिए

 इजरायली आक्रमणमा परी एक हिजबुल्लाह शीर्ष कमाण्डर मारिएका छन् ।

लेबनानको राजधानी बेरुतमा शुक्रबार इजरायली हवाई हमलामा परी कमान्डर इब्राहिम अकिलको मृत्युको पुष्टि भएको हो ।इजरायलले उनी आक्रमणमा मारिएका धेरै हिजबुल्लाह नेताहरूमध्ये एक रहेको बताएको छ ।

यसअघि लेबनानी अधिकारीहरूले इरानसमर्थित समूहको गढ रहेको सहरको दक्षिणी दहेह क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएका थिए ।

आक्रमणबाट कम्तीमा एउटा आवासीय भवनमा भत्किएको छ भने अन्यमा ठूलो क्षति पुगेको थियो। उद्धार टोलीहरू आक्रमण भएको ठाउँमा पुगेर घाइतेहरूलाई उद्धार गर्ने र भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका बेला त्यहाँ अस्तव्यस्त दृश्यहरू देखिएका थिए ।

हिजबुल्लाह समूहका लागि यो अर्को अपमानजनक प्रहार थियो । केही दिनअघि मात्र समूहले प्रयोग गर्ने पेजरहरू र वाकी(टकीहरू विस्फोट भएका थिए । ती विस्फोटमा दर्जनौँ मारिए भने हजारौँ घाइते भएका छन् ।