फिल्म ‘सानो संसार’ सेन्सर पास

फिल्म ‘सानो संसार’ सेन्सर पास भएको छ ।

बिहीबार केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) ले फिल्म हेर्दै सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट दिएको हो । फिल्मलाई सेन्सर बोर्डका प्रतिनिधिले एकदमै राम्रो प्रतिक्रिया दिएको निर्माता अर्जुनकुमारले बताए ।

उनका अनुसार सेन्सर बोर्डका प्रतिनिधिले ‘सानो संसार’ हेरेपछि मध्यम वर्गीय परिवारको मर्मस्पर्शी कथाले मन जितेको प्रतिक्रिया दिएका थिए ।

फिल्म सबै दर्शकले हेर्न पाउने छन् । अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मले मध्यमवर्गीय परिवारले गर्ने सङ्घर्ष र सन्तानको विदेश मोहले निम्त्याएको कलहलाई मर्मस्पर्शी ढङ्गले पस्किएको छ 

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिकामा छिन् ।  सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । सबै कलाकारले नेपाली फिल्ममा यसैमार्फत डेव्यु गरेका हुन् । 

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता माधव वाग्ले हुन् । फिल्मको निर्देशन सिद्धार्थ पुडासैनीले गरेका हुन् ।