रविविरुद्धको सहकारी ठगी फाइल अघि बढ्यो, धनराजमाथि कहिले हुन्छ छानबिन ?

रास्वपा सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको अनुसन्धान अघि बढेको छ। 

संसदीय छानबिन समितिको प्रतिवेदन गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय पुगेको छ। एमाले सांसद सूर्य थापा नेतृत्वको छानबिन समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि, अध्यक्ष जिबी राई, छविलाल जोशी र कुमार रम्तेलविरुद्ध थप अनुसन्धान गरी कारबाही अगाढि बढाउन भनेको थियो। लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले कास्की प्रहरीलाई फाइल पठाउने तयारी गरेको हो।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा अगाडि बढाउने तयारी छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा यी कसुरमा मुद्दा अगाडि बढाउने र त्यसका लागि सहकारी छानबिन समितिको प्रतिवेदन पठाइने भएको छ।जीबी राईले सहकारीका बचतकर्ताको रकम रविसमेत सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा लगेको र रवि लामिछानेसमेतले ८५ करोड अपचलन गरेको समितिको निष्कर्ष छ। समितिले रवि लामिछानेले आफैँ चेक काटेर के कति रकम कहाँकहाँ खर्च गरे भन्ने पनि प्रतिवेदनमै उल्लेख गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि विरुद्ध यसअघि नै पुरक जाहेरी छ। उनी गृहमन्त्री भएपछि प्रहरीले अनुसन्धान रोकेको थियो। तर, उनी गृहमन्त्रीबाट हटेसँगै प्रहरीले लामिछानेसँग बयान कागज गराइसकेको छ, भने गोर्खा मिडिया नेटवर्कमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो। 

रविविरुद्धको अनुसन्धानले अब तीव्रता पाउने देखिन्छ। तर, सत्तारुढ दल कांग्रेसका उपसभापति धनराज गुरुङविरुद्ध सरकारले कस्तो एक्सन लिन्छ हेर्न बाँकी छ। छानबिन समितिले गुरुङमाथि कारबाही गर्न निर्देशन दिएको छ। मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनामा गुरुङकी श्रीमती ज्योति गुरुङको संलग्नता देखिन्छ, उनी महाप्रबन्धक थिइन्। १४ करोड ८१ लाख हिनामिना प्रकरणमा मुछिएपछि उनी विदेश लुकेर बसेकी छन्। तर, धनराजले सहकारी ठगीबाट जोगिनका लागि ज्योतीसँग सम्बन्ध विच्छेद गरेका थिए। २९ फागुन ०७६ सम्बन्धविच्छेदको दाबी गरिए पनि ३ फागुन ०७७ मा ज्योतिलाई नै श्रीमतीका रूपमा हकवाला राखेर १२ लाख ऋण लिइएको पाइएको छ।

समितिको प्रतिवेदनमा भनिएको छ,‘सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा छन् । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध बिच्छेद गरेर पनि एकसाथमै बस्ने गरेको चर्चा छ । निजहरूको सम्बन्ध विच्छेदको मिलापत्र फैसला अनुसूची–२३ मा प्रस्तुत गरिएको छ। सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरूङ र धनराज गुरूङ समेतका उपर प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शिघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ।’
गुरुङले मितेरी बचत तथा ऋण सहकारीमा लेखांकन नगरी बचतकर्ताबाट १२ करोड ९४ लाख ८९ हजार रुपैयाँ उठाएको समितिको निष्कर्ष छ। प्रतिवेदन अनुसार गुरूङले एक व्यक्तिबाट ६९ लाखसम्म लिएर सो रकम आफूखुसी उठाएको खुलेको छ।

ज्योतिलाई विश्वास गरेर हर्कराज रोकाले ६९ लाख तीन हजार, कमला गुरुङले ४५ लाख २० हजार, एश बहादुर राईले ४५ लाख २० हजार, चेनमायाँ गुरूङले ४१ लाख सात हजार, दिनेश शर्माले ३२ लाख ५० हजार र जितबहादुर थापाले २८ लाख ७० हजार रुपैयाँ बचतबापतको रकम दिएका थिए।

यी बचतकर्ताबाट लिएको रकमका बारेमा गुरूङले संस्थालाई जानकारी समेत नदिएको र रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ। उक्त बचतको हालसम्मको जम्मा रकम समेत गरी १४ करोड ८१ लाख बराबरको रकम सम्बन्धमा आवश्यक छानबिन गरी प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाउन समितिले सरकारलाई निर्देशन दिएको छ।