विश्वकप लिग २ : युएईकाे पहिलो जित, नामिबियालाइ १ विकेटले हरायाे

 युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ ।

विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका र ५ छक्का प्रहार गरे ।

एक समय १ सय १४ रनमा ५ विकेट गुमाएर संकटमा परेको युएईका लागि सुकुमारन र बासिल हमिदले छैटौं विकेटका लागि १ सय ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । हमिदले ४७ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ७१ रन बनाएका थिए ।

जितका लागि ४ रन चाहिएको अवस्थामा छक्का प्रहार गर्दै टिमलाई पहिलो जित दिलाउने अलि नासिरले २१ बलमा नट आउट रहदै महत्वपुर्ण ३८ रन जोडे । आयाशं शर्मा र अलिशान सरफुले समान ३०, कप्तान मुहम्मद वासिमले १९ रन जोडे ।

नामिबियाका जान निकोल लेफ्टी इटनले ४, बेर्नाड स्कोट्जे र टांगेनी लुंगामेनीले समान २ तथा कप्तान जेरार्ड इरास्मसले १ विकेट लिए ।

त्यसअघि टस ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा १० विकेट गुमाउँदै ३ सय १३ रन बनाएको थियो ।नामिबियाका ओपनर माइकल भान लिगेनले ८५ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ७ रन बनाए । जेपी कोट्जेले ५३ बलमा ६४ तथा जान निकोल लेफ्टी इटनले ६३ बलमा ५४ रन जोडे ।

युएईका लागि अलि नासिरले ३, मोहम्मद जगदुल्लाह, जुनैद सिद्धिकी, बासिल हमिद, राहुल भाटिया र बिस्नु सुकुमारनले समान १ विकेट लिए ।अर्को लिग २ को त्रिकोणात्मक सिरिजमा क्यानडा, नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । ओमान र क्यानडाबीचको खेल जारी छ ।

नामिबियालाई हराएको युएई २ अंकका साथ तालिकाको पुछारमा छ । पराजित नामिबिया ८ अंकका साथ पाँचौ स्थानमा झरेको छ ।

नेदरल्यान्ड्स शीर्ष स्थानमा रहॅंदा २ अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ । लिग टु मा ८ टोली सहभागी रहेका छन् ।