साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतकाे विजयी सुरुआत

 साफ यू–१७ च्याम्पियनसिप फुटबलमा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुआत गरेको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १–० को कठिन जीत दर्ता गरेको हो । यो समूहमा माल्दिभ्स पनि रहेको छ ।पहिलो खेलमा जित निकालेको भारत सेमिफाइनल नजिक पुगेको छ ।

निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा भारतले गोल गर्दै जीत निकालेको हो ।खेलभरि नै बंगलादेशको उत्कृष्ट रक्षात्मक पंक्तिसँग संघर्ष गरेको भारतले अन्ततः इन्जुरी समयको पहिलो मिनेटमा डिफेन्डर सुमित शर्माको हेडरबाट गोलको खडेरी तोडेको थियो ।

भारतका मुख्य प्रशिक्षक इश्फाक अहमदले खेलको ७८ औं मिनेटमा मैदानमा पठाएका परिवर्तन खेलाडी मानभकुपर मालन्गियाङले खेलको निर्णायक गोलका लागि सहयोग गरेका थिए ।भारतले आफ्नो समूह चरणको अन्तिम खेल माल्दिभ्सविरुद्ध खेल्ने छ । पराजित भएको बंगलादेशले पनि अब माल्दिभ्ससँग खेल्ने छ ।

शुक्रबारदेखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले भने शनिबार पाकिस्तानसँग खेल्ने छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरुहुने छ ।