वीरगञ्ज महानगरमा गुरुयोजना बनाएर खानेपानीको पहुँच विस्तार गरिने

काठमाडौँ, ४ असोजः  वीरगञ्ज महानगरभित्र गुरुयोजना बनाएर खानेपानीको पहुँच विस्तार गरिने भएको छ । वीरगञ्ज महानगरपालिका, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्यको गुरुयोजना तयार गरेर महानगरका ३२ वटै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने तयारी गरिएको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संयोजनमा आज बसेको बैठमा गुरुयोजना बनाएर खानेपानीको वितरण गर्ने र सरसफाइलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने विषयमा छलफल भएको छ । प्रमुख सिंहले महानगरवासीलाई दीर्घकालिनरूपमा स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन गुरुयोजना बनाएर कार्यान्वयनमा लैजाने  विषयमा छलफल भएको बताउनुभयो  ।

“सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु हाम्रो मुख्य प्राथमिकता हो । सुरक्षित खानेपानीको परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्ने भएको छ,” उहाँले भन्नुभयो । बैठकले खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्ययोजना लागू गर्ने निर्णय गरेको छ ।