वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

सहकारी ठगीको अनुसन्धानबाट जोगिन् देउवालाई फकाउँदै रवि लामिछाने

सहकारी ठगी प्रकरणमा उन्मुक्ति पाएको दाबी गरिरहेका रास्वपा सभापति रवि लामिछानेको प्रवृत्ति छ, सत्तामा छँदा अहमता पाल्ने, कसैलाई नटेर्ने। कुनै बेला सञ्चारकर्ममा रहेका रवि दुईपटक उपप्रधान एवं गृहमन्त्री भएपछि मिडियालाई तारो बनाए। बुझ्न पर्ने कुरा के हो भने मिडिया सधैँ सत्ताको खबरदारी गर्छ।

तर, रवि मन्त्री छँदा उनले गरेका विवादास्पद निर्णय र कदमको आलोचना गर्दा उनले मिडियालाई तारो बनाए। पत्रकार सम्मेलन नै गरी मिडियामाथि खनिए। अझ सहकारी ठगी प्रकरणमा मुछिएपछि उनले पदबाट राजीनामा दिनु त परैको कुरा हो, पत्रकार सम्मेलन नै गरी धम्कीपूर्ण शैली प्रदर्शन गरे। उनले त्यतिखेर प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि टेरेनन्, गगन थापाहरुलाई त ट्युसन पढाउने भन्दै भाषण गरिरहे। 

https://barnanmedia.com/news/detail/194836

सीमित कर्मचारीको घेराभित्रबाट चल्दा प्रधानन्यायाधीश श्रेष्ठको कार्यकाल विवादित, अझै न्यायाधीश नियुक्तिको जोडबल

सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढिसकेको छ । प्रधान न्यायाधीश सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइका लागि उजुरी आह्वान भएको छ । 
सुनुवाइ समितिको बिहीबार बसेको बैठकले राउतविरुद्ध उजुरी भए समितिलाई उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको छ ।

गत सोमबार बसेको संवैधानिक परिषद् बैठकले राउतको नाम सर्वसम्मत सिफारिस गरेर संसदीय सुनुवाइ समितिमा पठाएको थियो । समितिले सुनुवाइका लागि १५ दिनको समय तोकेर उजुरी आह्वान गरेको छ । प्राप्त उजुरीमा समितिले छलफलपछि मात्र सुनुवाइका लागि राउतलाई बोलाउने छ ।

https://barnanmedia.com/news/detail/194864/ 

प्रधानमन्त्रीओली र भारतीय समकक्षी मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने भएको छ। असोज ६ गते आइतबार स्थानीय समयअनुसार साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

ओली-मोदी भेटवार्ताका लागि परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय आन्तरिक तयारीमा जुटेका छन्। 'प्रधानमन्त्रीज्युको भारतीय समकक्षीसँगको भेटवार्ता सुनिश्चित भएको छ। केही तलमाथि नभए सेप्टेम्बर २२ (असोज ६) मा उहाँहरूबीच भेटवार्ता हुनेछ,' परराष्ट्र मन्त्रालय स्रोतले अन्नपूर्णसँग भने।

जलवायु न्यायका लागि जन मार्च गरिँदै

 जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न आवाज उठाउने र त्यसबाट परेको असरको न्याय माग गर्ने उद्देश्यले यही शनिबार ‘जलवायु जन मार्च २०८१’ आयोजना गरिने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलन गर्दै आयोजकहरूले विश्वभरका औद्योगिक राष्ट्रलाई जलवायु वित्त भुक्तानीका लागि दबाब दिन जनस्तरबाट मार्च गर्न लागिएको बताएका छन् । 

चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण

उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार छ वटा नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।उक्त उपग्रहहरू ‘जिलिन–१ कुआन्फु ०२बी ०१–०६’ लङ मार्च–२ डी क्यारियर रकेटमा प्रक्षेपण गरिएको छ । उपग्रहहरू सफलतापूर्वक पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । 

‘जिलिन–१’ चीनको पहिलो स्व–विकसित व्यावसायिक रिमोट सेन्सिङ स्याटेलाइट प्रणाली हो । यो उपग्रहहरू चाङ गुआङ स्याटेलाइट टेक्नोलोजीद्वारा संचालित छन् । यसले प्रयोगकर्ताहरूलाई १५० किलोमिटर चौडाइ, ०.५ मिटर रिजोलुसनको स्याटेलाइट छविहरू प्रदान गर्नेछ । 

वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय सन्तुलनबाट कायम गरेर गरिने आर्थिक वृद्धिदर दिगोपना हुने बताउनुभएको छ । चैतन्य एकेडेमी नेपालद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘हरित अर्थतन्त्र प्राप्ति : नेपालमा तीन तहको सरकारबीच समन्वय’ विषयक दुईदिने नीति–संवाद कार्यक्रमको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले दिगोपनाको आर्थिक वृद्धिदरले मात्रै राष्ट्रलाई प्रतिफल दिनसक्ने बताउनुभयो ।

“वातावरणीय सन्तुलन कायम नगरी गरिने आर्थिक वृद्धि अन्ततः दिगो हुनसक्दैन र त्यसले राष्ट्रलाई राम्रो प्रतिफल दिन पनि सक्दैन, यसबाट भावि पुस्ताका निम्ति अकल्पिनीय बोझ छाडेर जाने चुनौती सिर्जना हुन दिनुहुँदैन”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले वातावरणीय सन्तुलनसहितको आर्थिक वृद्धिदर बढाउनुपर्नेमा जोड दिनुभयो ।

हिजबुल्लाहद्वारा इजरायलमा १४० रकेट प्रहार

इजरायली सेनाले आफ्नो वायुसेनाले लेबनानको राजधानी बेरुतमा लक्षित आक्रमण गरेको जनाएको छ।बीबीसीका अनुसार तर इजरायली सेनाले हवाई हमलाबारे थप जानकारी दिएको छैन।यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानबाट उत्तरी इजरायलमा रकेट प्रहार गरिएको बताएको थियो।

‘लेबनानबाट उत्तरी इजरायलमा १४० रकेट प्रहार गरिएका थिए। वायु रक्षा प्रणालीले १२० रकेट नष्ट गर्‍यो,’ आईडीएफले  विज्ञप्तिमा भनेको छ। ‘लगभग २० वटा रकेट मिरोन र नेटुआमा प्रहार गरिएका थिए, ती खुला क्षेत्रमा खसे,’ आईडीएफले भन्यो।इरान समर्थित समूह हिजबुल्लाहले सैन्य लक्ष्यलाई निशाना बनाएर उत्तरी इजरायलमा रकेट प्रहार गरेको बताएको छ।

मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई

 मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट जनगायक रामकृष्ण दुवाल सम्मानित गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले दुवालले पाँच दशकदेखि नेपाली प्रगतिशील संस्कृतिका माध्यमबाट समाजलाई पु¥याउनुभएको योगदान स्वरूप पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिनुभयो । रु एक लाख राशिको उक्त पुरस्कार फाउण्डेशनको २५औँ स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा शनिबार प्रदान गरिनेछ । 

रवि लामिछानेले धोका दिँदा सहकारीमा समस्या आयाे : कुमार रम्तेल

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेलले गोर्खा मिडिया नेटवर्कका तत्कालीन एमडी रवि लामिछानेले धोका दिँदा सहकारीमा समस्या आएको बताएका छन् ।  सहकारी छानबिनसम्बन्धी संसदीय छानबिन विशेष समितिमा बयानका क्रममा कुमारले पाँच वर्षसम्म ग्यालेक्सी फोर–के टेलिभिजनमा काम गर्ने सहमति गरेर रविले आठ महिनामै छाडेकाले सहकारीमा समस्या आएको बताए । 

प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पूरक अभियोग लैजाने 

 प्रहरीले रास्वपा सभापति रवि लामिछानेविरुद्ध पूरक अभियोग लैजाने भएको छ ।

प्रहरी प्रधान कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा रविविरुद्ध प्रमाण संकलन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई भनेको एक अधिकारीले जानकारी दिए ।प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई ‘मौखिक निर्देशन’ दिइएको छ ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा रवि संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ ।

धनराज गुरुङमाथि कारबाही गर्न संसदीय छानबिन समितिकाे निर्देशन

नेपाली कांग्रेस उपसभापति धनराज गुरुङमाथि मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ ।सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिले समस्याग्रस्त सहकारीहरुमा संस्थागत नक्कली अभ्यास गरेको उल्लेख गर्दै धनराजमाथि छानबिनका लागि निर्देशन दिएको हो ।

कृषिमन्त्री रामनाथ अधिकारीलाई डेंगी, मन्त्री क्वार्टरमै आराम गर्दै

कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगी लागेको छ । 

साताअघि एक विराटनगरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका उहाँलाई काठमाडौँ फर्किएलगत्तै डेंगी संक्रमण पुष्टि भएको बताइन्छ । डेंगीले समातेसँगै मन्त्री अधिकारीका सबै सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ ।अहिले क्वार्टरमै आराम गरिरहनुभएका उहाँ चिकित्सकको निगरानीमा रहेको र दैनिक स्वास्थ्य चेकजाँच भइरहेको मन्त्रीसम्बद्ध स्रोतले जनाएको छ ।

युक्रेनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध

युक्रेनले शुक्रबार रुसी मूलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै आफ्नो सरकार, सेना र सुरक्षा अधिकारीका लागि ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ । 

युक्रेन र रुस दुवैमा सञ्चारको मुख्य स्रोतका रुपमा प्रयोग हुने सामाजिक सञ्जालमा व्यक्तिगत डाटा र सन्देशहरूमा रुसको पहुँच हुन सक्ने चेतावनी कियभले दिएको छ । ‘राष्ट्रिय सुरक्षा र रक्षा परिषदले सरकारी विभाग, सैन्य संरचना र महत्वपूर्ण पूर्वाधार सुविधामा टेलिग्रामको प्रयोग प्रतिबन्धित गर्ने निर्णय गर्यो’, सुरक्षा परिषद्ले फेसबुकमा एक विज्ञप्तिमा भन्यो, ‘यो राष्ट्रिय सुरक्षाको कुरा हो।’ 

कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक अस्थिरताका कारण अहिलेको व्यवस्थाविरुद्ध अनेकौँ शक्तिहरु लागि परेकाले लोकतान्त्रिक शक्तिबीच समन्वय र एकताको आवश्यकता रहेको बताउनुभएको छ ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आज आयोजित दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभामा अध्यक्ष नेपालले जनताले लामो समयसम्म गरेको सङ्घर्ष, त्याग र बलिदानका कारण अहिलेको उपलब्धि हासिल भएको  बताउनुभयो ।

नेपाल प्रहरीका इन्स्पेक्टर मल्ल भारतमा पुरस्कृत

भारतको सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित ‘बेसिक ट्रेनिङ कोर्स फर आईपीएस अफिसर’ तालिममा सहभागी नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) सनम मल्ल पुरस्कृत भएका छन् ।

उनी ‘द बेस्ट जेन्टलम्यान प्रोभाटियोनर फर सीटी’ पुरस्कारबाट पुरस्कृत भएका हुन् । दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) भीमप्रसाद ढकालकोसमेत उपस्थिति रहेको जनाइएको छ ।

एभरेस्ट वुमन्स भलिबल लिग : कर्णाली यश्विजबाट खेल्दै अमेरिकाकी ग्याब्रीएल बेन्डा

अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् ।

बिहीवार ‘यश्विज टिम’ ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्ने खबर सार्वजनिक गरेको हो । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को केही दिन अघि मात्र कर्णालीमा ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ सम्पन्न गरिएको थियो । ट्रफि अनावरणपछि यश्विजले ग्याब्रीएलबारे घोषणा गरेको हो ।

सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध दुई सय ७० उजुरी परेको जानकारी दिएको छ । 

बिहीबार सुखीपुर नगरपालिकाको सभाहलमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुुशासन प्रवर्द्धन’ विषयक स्थानीय तह स्तरीय अन्तरक्रिया अख्तियारका सहायक प्रवक्ता तथा सूचना अधिकारी देवीप्रसाद थपलियाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । 

क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

बुरुन्डीमा पाँच वर्ष मुनिका बालबालिकामा एमपक्स सङ्क्रमणबाट बढी प्रभावित :  राष्ट्रसङ्घ

बुरुन्डीमा रेकर्ड गरिएको एमपक्स सङ्क्रमणबाट एक तिहाई पाँच वर्ष मुनिका बालबालिका रहेको र अफ्रिकामा एमपक्स सङ्क्रमणले विशेषगरी युवाहरू प्रभावित भएको  संयुक्त राष्ट्र बाल एजेन्सीले शुक्रबार बताएको छ । अफ्रिका महाद्वीपमा कङ्गोपछि बुरुन्डी दोस्रो सबैभन्दा बढी एमपक्स प्रभावित देश हो । पूर्वी र दक्षिणी अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय स्वास्थ्य सल्लाहकार पल न्गवाकुमले भन्नुभयो  “बुरुन्डीका बालबालिकाले सङ्क्रमणको खतरा र गम्भीर स्वास्थ्य प्रभावका साथ एमपक्स प्रकोपको असर झेलिरहेका छन्।“

विश्व बजारमा आईफोन १६ सिरिजको बिक्री सुरु, नेपालमा कहिले भित्रेला ?

 विश्वका विभिन्न बजारमा आजदेखि आईफोन १६ सिरिजको बिक्री सुरु भएको छ । नेपालमा भने यो १६ सिरिज भित्रिन केही साता लाग्ने बताइएको छ । आईफोन १६ सिरिज आएसँगै पिकोडी डटकमले ‘आईफोन इन्डेक्स २०२४’ सार्वजनिक गरेको छ, जसमा ५२ देशको सूची प्रस्तुत छ ।उक्त रिपोर्ट अनुसार स्विजरल्यान्डका औसत नागरिकले चार दिन काम गर्दा ९९९ डलर पर्ने आईफोन १६ प्रो खरिद गर्न सक्छन् । अमेरिकाका औसत नागरिकलाई ५.१ दिन, अस्ट्रेलिया र सिङ्गापुरका नागरिकलाई ५.७ दिन काम गर्नुपर्छ ।

आमा-छोरा हत्या प्रकरण : १५ दिनको लामो अनुसन्धानपछि आरोपितलाई पक्राउ सार्वजानिक

उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेका आमा-छोरा हत्या प्रकरणका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।    करिव १५ दिनको लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजानिक गरेको हो ।  शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक हरीहर नाथ योगीले ‘घटनाको सूक्ष्म अध्ययनपछि प्रहरीले आमा-छोरा हत्या प्रकरणका आरोपितलाई पक्राउ गर्न सफल भएको बताए । 

प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।  सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरूबीच आज भएको भेटमा द्वीपक्षीय हित एवं पारस्परिक सम्बन्धका विविध विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ  ।यस किसिमका भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास व्यक्त गरेको छ ​​​​​​