काभा महिला क्लब च्याम्पियसिप :  नेपाल पुलिस क्लबकाे लगातार पाँचौं जित

 नेपाल पुलिस क्लबले माल्दिभ्समा जारी काभा महिला क्लब च्याम्पियसिप भलिबलमा लगातार पाँचौं खेलमा जित दर्ता गरेको छ।

शुक्रबार सम्पन्न खेलमा माल्दिभ्स पुलिस क्लबलाई नेपाल पुसिलले ३–१ को सेटमा पराजित गरेको हो।

पुलिसले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेटमा २३–२५ ले गुमाएको थियो। चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै पुलिसले तीन अंक हासिल गर्न सफल भयो। यसअघि नै फाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को तथा चौथो खेलमा माल्दिभ्सको वाम्को क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो।

यो जितसँगै पुलिसले पाँच खेलबाट १४ अंक जोड्दै अपराजित रहेको छ।