कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता

काठमाडौँ, ४ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक अस्थिरताका कारण अहिलेको व्यवस्थाविरुद्ध अनेकौँ शक्तिहरु लागि परेकाले लोकतान्त्रिक शक्तिबीच समन्वय र एकताको आवश्यकता रहेको बताउनुभएको छ ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आज आयोजित दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभामा अध्यक्ष नेपालले जनताले लामो समयसम्म गरेको सङ्घर्ष, त्याग र बलिदानका कारण अहिलेको उपलब्धि हासिल भएको  बताउनुभयो ।
 
कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकाले त्यसैलाई सुधार्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले भ्रष्टाचार, व्यक्तिवाद, कुशासनको अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । मुलुकको राष्ट्रियता, अखण्डता साथै जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी संविधान संशोधन हुन नसक्ने उहाँको भनाइ छ । 

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनको विकासक्रममा आफ्नो पार्टीले वैज्ञानिक समाजवाद अवलम्बन गरेको बताउँदै क्रान्तिकारी कार्यशैली सशक्त पार्टी निर्माणको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो । 

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न समाजवादको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले हालै सम्पन्न महाधिवेशनले सहमति र अग्रगमनको जनादेश दिएको बताउँदै नीति तथा कार्यदिशाअनुसार निम्न श्रमिक वर्गको हितमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव घनश्याम भुसालले संविधान जारी भएको एक दशकमा अपेक्षाकृत प्रगति हुन नसक्दा मुलुकको समग्र वाम आन्दोलनमा र हामीले गरेको विद्रोहमा चुनौती थपिएकाले वर्गीय विभेद, सामाजिक शोषणविरुद्ध सङ्घर्ष गर्ने कम्युनिष्ट पार्टीको खाँचो औँल्याउनुभयो । मुलुकमा भर पर्दो नेता नभएकाले सङ्घीय गणतान्त्रिक लोकतन्त्र र समाजवाद नेतृत्वविहीन रहेको विचार व्यक्त गर्नुभयो । 

पार्टी सचिव एवं कार्यक्रमका संयोजक सावित्रा भुसालले मुलुकको समसामयिक राजनीतिक तथा कार्यक्रमका विषयवस्तुमा जानकारी गराउनुभयो ।