बुरुन्डीमा पाँच वर्ष मुनिका बालबालिकामा एमपक्स सङ्क्रमणबाट बढी प्रभावित :  राष्ट्रसङ्घ

बुरुन्डीमा रेकर्ड गरिएको एमपक्स सङ्क्रमणबाट एक तिहाई पाँच वर्ष मुनिका बालबालिका रहेको र अफ्रिकामा एमपक्स सङ्क्रमणले विशेषगरी युवाहरू प्रभावित भएको  संयुक्त राष्ट्र बाल एजेन्सीले शुक्रबार बताएको छ । 

अफ्रिका महाद्वीपमा कङ्गोपछि बुरुन्डी दोस्रो सबैभन्दा बढी एमपक्स प्रभावित देश हो । पूर्वी र दक्षिणी अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय स्वास्थ्य सल्लाहकार पल न्गवाकुमले भन्नुभयो  “बुरुन्डीका बालबालिकाले सङ्क्रमणको खतरा र गम्भीर स्वास्थ्य प्रभावका साथ एमपक्स प्रकोपको असर झेलिरहेका छन्।“
 
न्गवाकुमले बुरुन्डीमा एमपक्सको दुई तिहाइ केशहरू १९ वर्ष र कम उमेरका बालबालिकासँग सम्बन्धित रहेको बताउनुभयो । “हाल पाँच वर्ष मुनिका बालबालिकामा एमपक्स सङ्क्रमणको वृद्धि विशेष चिन्ताको विषय हो“, उहाँले भन्नुभयो । 

पहिले मंकीपक्स भनेर परिचित एमपक्स जनावरहरूद्वारा मानिसमा सर्ने भाइरसका कारण हुन्छ तर नजिकको शारीरिक सम्पर्कबाट पनि मानिसबाट मानिसमा सर्न सक्छ । यसले ज्वरो, मांसपेशी दुख्ने र छालामा ठुला फोका जस्ता घाउ निम्त्याउँछ, र केही अवस्थामा घातक हुन सक्छ । 

विश्व स्वास्थ्य सङ्गठनले गत महिना कङ्गोमा नयाँ क्लेड १बी भेरियन्टको सङ्क्रमण तीव्र भएपछि एमपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । जनवरीदेखी सेप्टेम्बर ८ का बिचमा महाद्वीपमा कुल २५ हजार ९३ एमपक्स सङ्क्रमणको घटना रेकर्ड गरिएको छ भने ७ सय २३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। 

कङ्गोमा लगभग २२ हजार एमपक्स सङ्क्रमित फेला परेका थिए भने ७०० भन्दा बढीको मृत्यु भएको छ  । त्यसैगरी बुरुन्डीमा १४ सय ८९ एमपक्स सङ्क्रमित रेकर्ड गरिएको छ ।यस क्षेत्रका बालबालिकाहरू पहिले नै कम प्रतिरक्षा र अन्तर्निहित रोगहरूले कमजोर भइसकेका छन् र उनीहरूलाई बचाउन स्तरिय उपचार आवश्यक रहेको नग्वाकुमले बताउनुभयो ।