विश्व बजारमा आईफोन १६ सिरिजको बिक्री सुरु, नेपालमा कहिले भित्रेला ?

 विश्वका विभिन्न बजारमा आजदेखि आईफोन १६ सिरिजको बिक्री सुरु भएको छ । नेपालमा भने यो १६ सिरिज भित्रिन केही साता लाग्ने बताइएको छ । 

आईफोन १६ सिरिज आएसँगै पिकोडी डटकमले ‘आईफोन इन्डेक्स २०२४’ सार्वजनिक गरेको छ, जसमा ५२ देशको सूची प्रस्तुत छ ।उक्त रिपोर्ट अनुसार स्विजरल्यान्डका औसत नागरिकले चार दिन काम गर्दा ९९९ डलर पर्ने आईफोन १६ प्रो खरिद गर्न सक्छन् । अमेरिकाका औसत नागरिकलाई ५.१ दिन, अस्ट्रेलिया र सिङ्गापुरका नागरिकलाई ५.७ दिन काम गर्नुपर्छ ।

आईफोन १६ प्रो १२८ जीबी स्टोरेज भेरियन्ट खरिद गर्न टर्कीका नागरिकले ७२.९ दिन, फिलिपिन्सका नागरिकले ६८.८ दिन, ब्राजिलका नागरिकले ६८.६ दिन, भियतनामका नागरिकले ५३.१ दिन काम गर्नुपर्ने रिपोर्टमा उल्लेख छ । छिमेकी देश भारतका नागरिकले ४७.६ र चीनका नागरिकले २४.७ दिन काम गरे भने आईफोन १६ प्रो मोडेल खरिद गर्न सक्छन् ।

५२  देशको सूचीमा नेपालको नाम भने राखिएको छैन । संस्थाले यो प्रतिवेदन आईफोनको मूल्य र सम्बन्धित देशका नागरिकको आम्दानीको अनुपातबाट निकालेको हो ।  

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार २०२४ मा औसत नेपालीको वार्षिक आम्दानी १४५६ अमेरिकी डलर रहेको छ । आजको विनिमय दर अनुसार यो रकम एक लाख ९४ हजार ५२१ रुपैयाँ हुन्छ । अर्थात् औसत नेपालीले दैनिक ५३२.९३ रुपैयाँ आम्दानी गर्छन् ।

नेपालमा आईफोन १६ प्रो १२८ जीबी र्‍याम भेरियन्टको मूल्य एक लाख ६३ हजार ६४६ रुपैयाँ पर्ने अपेक्षा गरिएको छ । यसलाई हिसाब गर्दा आईफोन १६ को यो भेरियन्ट खरिद गर्न औसत नेपालीले ३०७ दिन अर्थात् १० महिना बढी काम गर्नुपर्ने देखिन्छ ।