कोरियामा उत्पादनमूलक क्षेत्रतर्फ जान लिइएको दोस्रो चरणको सीप तथा योग्यता परीक्षाको नतिजा सार्वजनिक

दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रतर्फ रोजगारीका लागि जान लिइएको दोस्रो चरणको सीप तथा योग्यता परीक्षण परीक्षाको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपिएस कोरिया शाखाले आज नतिजा प्रकाशित गरेको छ ।  

शाखाका अनुसार आठ हजार ९३२ जनाले परीक्षा दिएकोमा आठ हजार १५१ जना उत्तीर्ण भएका छन् । ‘सीप परीक्षणमा आठ हजार ९३२ जना सहभागी भई उक्त टेस्टमा आठ हजार १५१ जना उत्तीर्ण भएको जानकारी एचआरडी सर्भिस अफ कोरियाबाट मिति २०८१–०६–०३ मा प्राप्त भएको...’,सूचनामा उल्लेख छ । 

परीक्षा गत भदौ १८ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो । त्यस्तै, स्वास्थ्य परीक्षणलगायत अन्य विषयको जानकारी पछि प्रकाशित गरिने शाखाले जनाएको छ ।