ईयूले युक्रेनलाई ३९ अर्ब अमेरिकी डलरसम्म ऋण सहायता दिने

युरोपेली संघ (ईयू)ले रुससँग युद्धको सामना गरिरहेको युक्रेनलाई ३९ अर्ब अमेरिकी डलरसम्म ऋण सहायता दिने भएको छ। 

संघको कार्यकारी विभागले शुक्रबार उक्त घोषणा गरेको सीएनएनले जनाएको छ।युक्रेनी अर्थतन्त्रको पुनरुत्थानका लागि उक्त ऋण दिन लागिएको बताइएको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डर लियेनले किभ भ्रमणको दौडान यो घोषणा गरेकी हुन्। 

‘रुसको अनवरत आक्रमणको अर्थ युक्रेनलाई ईयूको निरन्तर समर्थन चाहिएको छ’, उनले ट्विटरमा लेखेकी छिन्, ‘यो ऋण जी७ राष्ट्रले जनाएको सदाशयताको एक अंग हो।’ गत जुनमा ठूला अर्थतन्त्र भएका ७ देशको समूह जी७ को बैठकले फ्रिज गरिएका रुसेली सम्पत्तिबाट हुने नाफा समेत गरी ५० अर्ब डलरसम्म ऋण दिने सहमति भएको थियो। 

पश्चिमा देशले रुसको ठूलो मात्रामा युरोप र अमेरिकामा रहेका बैंक खाता रोक्का गरिदिएको छ। रुसले सन् २०२२ देखि युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको छ।