सहकारीबाट रवि लामिछानेको नाममा पैसा गएको छ : कुमार रम्तेल

सहकारी ठगीमा कास्कीमा थुनामा रहेका कुमार रम्तेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सहकारीबाट पैसा लगेको बयान दिएका छन् ।

संसदीय छानबिन समितिले गरेको सोधपुछका क्रममा रम्तेलले आफ्नो नाममा खडा गरिएको ऋण कृत्रिम भएको उल्लेख गरेका छन् । रम्तेलले आफूले चिनेको रवि लामिछाने पूर्व गृहमन्त्री रवि लामिछाने नै भएको बताएका छन् ।

उनले बयानमा भनेका छन्, “निज रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दिपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिएँ । ग्यालेक्सी टीभीमा कम्तिमा पाँच वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा तपाईंले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जीबी राईसँग कुरा भइसकेको छ भन्नु भएको थियो ।”

‘मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जानुले यो यो कुरा पुष्टि हुन्छ,’ रम्तेलले बयानमा भनेका छन्,‘त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने नै हुन् भन्न्ने कुरा यकिन साथ भन्न सक्छु ।’

रम्तेलले ग्यालेक्सी टीभी अवस्था विग्रिनुमा रवि लामिछाने कारण रहेको बयानमा भनेका छन् । नारायणगढ– बुटवल खण्डको दबाब यात्रामा लामिछाने रहेको बेला दीपक बोहोरा मार्फत फोन गरेर उक्त बताएको उनले बयानमा भनेका छन् । पाँच वर्ष टिभीमा काम गर्ने सहमति गरेर लामिछानेले वीचमै छोडेको रम्तेलको बयानमा छ । रम्तेल सूर्यदर्शन र स्वर्णलक्ष्मी सहकारीको कोषाध्यक्ष, समानताको सचिव थिए । रम्तेल हाल कास्कीमा थुनामा छन् ।