संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ।

समितिको शुक्रबार बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादवमाथि उजुरी आह्वान गरेको हो।

उनीहरुमाथि सुनुवाइका लागि गरिएको उजुरी आह्वान गर्न समितिले आज जारी गरेको सूचनामा १० दिन भित्र समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयबाट दिने सकिने उल्लेख गरिएको छ। साथै, सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने भए पनि सूचनादाताले चाहेमा गोप्य राख्न सकिने जनाएको छ।

संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ। 

त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश राउतले १८ महिना न्यायापालिकाको जिम्मेवारी सम्हाल्नेछन्।  मन्त्रिपरिषद् बैठकले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत र चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो।