पत्रकार महासंघका कार्यवहाक अध्यक्ष विष्टले दिए राजीनामा

 नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिनुभएको छ।

महासंघका अध्यक्ष बिपुल पोखरेलले पदबाट राजीनामा दिएपछि उपाध्यक्ष विष्ट कावा अध्यक्ष हुनु भएको थियो ।

यसअघि महाधिवेशन सम्पन्न भएर पटक(पटक निर्वाचनको मिति तोकिसक्दा पनि निर्वाचनको वातावरण नबनेकोप्रति दुस्ख व्यक्त गर्दै तत्कालीन अध्यक्ष पोखरेलले सोमबार राजीनामा दिनुभएको थियो ।

यस्तै सदस्य शुद्धीकरण विवादमा फसेको महासंघका कावा अध्यक्ष विष्टले पनि राजीनामा दिनुभएको छ ।

पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भ्रातृ संस्थाहरूले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसके विष्टको भनाइ छ ।

‘राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रूपमा थप्न बाध्य पार्नु नाङ्गो हस्तक्षेपको नमूना हो ‘, विष्टले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

‘पत्रकार महासंघलाई विगतदेखि निरन्तर प्रहार गरेर कमजोर बनाई आफ्नो स्वार्थ पूरा गर्न पल्केका तत्वहरूले पनि महासंघको निर्वाचनलाई अनिश्चित बनाउन निरन्तर खेलिरहेको सबैले बुझेकै तथ्य हो । सहजै निर्वाचन हुने परिस्थितीमा पनि निर्वाचन भाँड्न दिएको दबाब र पठाइएका म्यासेज त्यसैका उदाहरण हुन्’, उहाँले भन्नुभएको छ ।

महासंघ पछिल्लो पटक विकसित भएको मुलुकको राजनीतिक सत्ता समीकरणको शिकार बन्न पुगेको भन्दै विष्टले दलगत रूपमा अघि सारिएका प्रस्तावित उम्मेदवारको जित( हारलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाउनुले थप जटिलता उत्पन्न गराउने पनि उल्लेख गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो । तर विवादका कारण महासंघको नयाँ नेतृत्व चयन अनिश्चित बनेको छ ।

महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो ।