बाइडेनद्वारा बिदाई सम्मेलनका लागि ‘क्वाड’ नेताहरूलाई स्वागत

अमेरिकी राष्ट्रपति जो बाइडेनले कथित ‘क्वाड’ समूहलाई बिदाइ दिनका लागि यस साताको अन्त्यमा आफ्नो डेलावेयरस्थित घरमा अस्ट्रेलिया, जापान र भारतका नेताहरूलाई स्वागत गर्दै हुनुहुन्छ । क्वाडलाई ती देशले चीनको प्रतिसन्तुलनका रूपमा अगाडि बढाएका छन् । 

बाइडेनले आफ्नो गृहनगर विलमिङ्टनलाई चार–राष्ट्रिय समूहको शिखर सम्मेलनका लागि चयन गर्नुभएको छ । यो उहाँ राष्ट्रपति पदमा रहँदा अन्तिम शिखर सम्मेलन हुनेछ । बाइडेनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा नगर्ने निर्णय गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीको नेतृत्व सुम्पिनुभएको छ । 

उहाँले आफ्नो प्रिय विलमिङ्टन घरमा एक–एक गरेर भेटवार्ता गर्नुहुनेछ । यसको सुरुआत शुक्रबार राति अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजबाट हुनेछ र शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा जापानी प्रधानमन्त्री फुमियो किशिदासँग जारी रहनेछ । 

त्यसपछि शनिबार बाइडेनले सहरको आफ्नो पूर्वविद्यालयमा ‘अन्तरङ्ग’ रात्रिभोज र पूर्ण चौतर्फी शिखर सम्मेलन आयोजना गर्नुहुनेछ । 

“यो राष्ट्रपति बाइडेनका लागि राष्ट्रपति पदमा रहँदा पहिलो पटक विलमिङ्टनमा विदेशी नेताहरूलाई स्वागत गर्ने अवसर हो, यसले उहाँ र प्रत्येक क्वाड नेताबीचको गहिरो व्यक्तिगत सम्बन्धलाई प्रतिबिम्बित गर्छ”, ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले भन्नुभयो ।

ह्वाइट हाउसले सम्मेलनमा उपराष्ट्रपति ह्यारिसको उपस्थिति नहुने जनाएको छ ।क्वाड समूहको सुरुआत सन् २००७ मा भएको थियो । यद्यपि बाइडेनले यसलाई बलियो बनाएर ट्रम्पको एक्लोपनवादी वर्षहरूपछि अन्तर्राष्ट्रिय गठबन्धनमा जोड दिनुभएको छ ।

चीनसँगको तनाव विशेषगरी विवादास्पद दक्षिण चीन सागरमा हालैको चिनियाँ र फिलिपिनो जहाजहरूबीचको सङ्घर्षका कारण बैठकमा चीनबारे प्रमुखताका साथ छलफल हुने अपेक्षा गरिएको छ ।

“यो निश्चय नै एजेन्डाको शीर्ष स्थानमा रहनेछ”, राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भन्नुभयो । उहाँले चार नेताबीच ‘जनवादी गणतन्त्र चीनले खडा गरेको चुनौतीबारे साझा बुझाइ’ रहेको बताउनुभयो ।
 
तथापि ह्वाइट हाउसले पत्रकारहरूको सीमित पहुँचका लागि आलोचना खेपिरहेको छ । विशेषगरी भारतीय प्रधानमन्त्री मोदीको मिडियासँगको कम सम्बन्धका कारण यो कदम उठाइएको भन्ने प्रश्न गरिएको छ ।

सन् २०२३ मा ह्वाइट हाउसको राजकीय भ्रमणका क्रममा दुई प्रश्नको उत्तर दिन मोदीलाई राजी गराइएको थियो । तर उहाँले भारतमा आफ्नो अघिल्लो नौ वर्षको शासनकालमा कुनै पनि खुला प्रेस सम्मेलन गर्नुभएको थिएन ।

ह्वाइट हाउसले बाइडेनले बढ्दो अधिनायकवादको आरोपको सामना गर्नुभएका मोदीसँग मानव अधिकारका विषयमा छलफल गर्न नहिचकिचाउने बताएको छ ।

“उहाँले विदेशी नेताहरूसँग गर्ने कुनै पनि कुराकानी यस्तो हुँदैन जसमा उहाँले मानव अधिकार र नागरिक अधिकारको सम्मानको महत्त्वका बारेमा कुरा नगर्नुभएको होस् र यसमा प्रधानमन्त्री मोदी पनि समावेश हुनुहुन्छ”, किर्बीले भन्नुभयो । 

भारतले सन् २०२५ मा अर्को क्वाड शिखर सम्मेलनको आयोजना गर्नेछ ।बाइडेनलाई वासिङ्टनदेखि करिब एक सय ७६ किलोमिटर टाढाको विलमिङ्टनमा आफ्नो घरप्रति गर्व छ । यहाँ उहाँ प्राय ह्वाइट हाउसको व्यस्तताबाट बाहिर रहेर सप्ताहन्त बिताउन आउनुहुन्छ । 

घरको ग्यारेजमा उहाँको कोरभेट स्पोर्ट्स कारको छेउमा गोप्य कागजातहरू फेला परेपछि सन् २०२२ मा यो घर चर्चामा आएको थियो । बाइडेनलाई उक्त मामिलामा आरोप लगाइएको थिएन ।