सहकारी ठगीको अनुसन्धानबाट जोगिन् देउवालाई फकाउँदै रवि लामिछाने

सहकारी ठगी प्रकरणमा उन्मुक्ति पाएको दाबी गरिरहेका रास्वपा सभापति रवि लामिछानेको प्रवृत्ति छ, सत्तामा छँदा अहमता पाल्ने, कसैलाई नटेर्ने। कुनै बेला सञ्चारकर्ममा रहेका रवि दुईपटक उपप्रधान एवं गृहमन्त्री भएपछि मिडियालाई तारो बनाए। बुझ्न पर्ने कुरा के हो भने मिडिया सधैँ सत्ताको खबरदारी गर्छ। तर, रवि मन्त्री छँदा उनले गरेका विवादास्पद निर्णय र कदमको आलोचना गर्दा उनले मिडियालाई तारो बनाए। पत्रकार सम्मेलन नै गरी मिडियामाथि खनिए।

अझ सहकारी ठगी प्रकरणमा मुछिएपछि उनले पदबाट राजीनामा दिनु त परैको कुरा हो, पत्रकार सम्मेलन नै गरी धम्कीपूर्ण शैली प्रदर्शन गरे। उनले त्यतिखेर प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि टेरेनन्, गगन थापाहरुलाई त ट्युसन पढाउने भन्दै भाषण गरिरहे। 

जब उनी सत्ताबाट बहिर पुगे त्यसपछि भने चेतिएका छन्। कांग्रेसकै मागका कारण बनेको संसदीय छानबिन समितिले रविमाथि पनि अनुसन्धान गर्न प्रतिवेदन बुझाएपछि झस्किएका छन्। रवि बाहिर आफूले क्लिनचिट पाएको बताइरहे पनि मनमा चिसो पसिसकेको छ। 

रवि कुनै बेला कांग्रेस सभापति शेरबहादुर देउवामाथि खनिन्थे। तर, बुधबारको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धीको प्रतिवेदन कार्यान्वयन गर्न गृह, अर्थ र भूमि मन्त्रालयलाई निर्देशन दिएपछि उनी फकाउन लागेका हुन्। किनकी अहिले गृहमन्त्री रमेश लेखक छन्, उनी कांग्रेस नेता मात्र होइन, देउवाका खास पात्रमध्येका हुन्। रविसहित गोर्खा मिडियाका तत्कालीन चार पदाधिकारीविरुद्ध सहकारी ठगीसहित ४ वटा कसुरमा अघि बढ्ने सम्भावना छ। मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयन गर्न भनेपछि अब गृहमन्त्री लेखकले प्रहरीलाई अनुसन्धान गर्न भन्नेछन्। हुन् त प्रहरी आफै पनि सुक्ष्म अनुसन्धानमा छ।

संगठित अपराध, सहकारी ठगी, किर्ते र कम्पनी ऐनअन्तर्गतका कसुरमा अनुसन्धान बढ्ने भएपछि रविले बिहीबार अनौँठो भाषण गरे। कांग्रेस र एमाले मिलेपछि आलोचना गर्दै आएका रविले बिहीबार भने कांग्रेस सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने बताए।  बिहीबार पार्टीले गरेको संविधानमाथिको छलफलमा सभापति लामिछानेले  भने, ‘संसद्‌मा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने स्थिति छ। अहिले दुई तिहाईको सरकार सबैभन्दा अस्थिर छ। एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन।’

रविले यसरी भाषण गर्नुको अर्थ उनले देउवासँग स्पेस खोजिरहेका छन्। संवाद गर्न चाहन्छन्।