माओवादी विद्यार्थी नेता पुलमुनी अचेत भेटिएपछि…

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता अचेत अवस्थामा फेला परेका छन्। बैतडीबाट धनगढी आएका विद्यार्थी नेता अचेत भेटिएका हुन्।

उनी अखिल क्रान्तिकारी सुदूरपश्चिमको दोस्रो प्रदेश सम्मेलनमा आएका थिए। प्रदेश सम्मेलनमा प्रतिनिधिका रुपमा आएका बैतडीको पुर्चौडी नगरपालिकाका गणेश बम बिहीबार धनगढीस्थित रातो पुलमुनी बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि कैलाली प्रहरीले अखिल क्रान्तिकारी बैतडीका पूर्व अध्यक्ष समेत रहेका उनलाई उपचारका लागि अस्पतालमा लगिएको थियो।

प्रहरीले बमलाई बेहोस अवस्थामा फेला पारेर उपचारका लागि निसर्ग अस्पताल धनगढीमा भर्ना गरेको छ। अहिले पनि उनी अचेत नै रहेको प्रहरीले जनाएको छ।प्रहरीकाअनुसार क्रान्तिकारीको प्रदेश सम्मेलन सकिएपछि बम अन्य दुई जना नेतासँग बुधबार राति धनगढीकै एक होटलमा बास बसेका थिए। तर उनी राति होटलबाट कसरी रातो पुलमुनी पुगे ? भन्ने कुरा खुलेको छैन। त्यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सो घटनामा बमको साथमा होटलमा सँगै रहेका क्रान्तिकारीका प्रदेश सचिव रोहित जोशी र दार्चुलाको गोकुलेश्वर क्याम्पसका स्वकीयु सभापति नवीन बिष्टलाई प्रहरीले सोधपुछ गरिरहेको छ।