गर्भावस्थामा महिलाले के खाने, के नखाने, जानाैँ !

गर्भावस्था महिलाले शारीरिक र भावनात्मक परिवर्तन भोग्छन् ।

यी परिवर्तन हुँदा आमा र पेटमा हुर्किँदै गएको शिशुको विकासका लागि पोषण सबैभन्दा आवश्यक तत्त्व हो । किनकि, गर्भावस्थामा आमाले सेवन गर्ने पोषणयुक्त खानेकुराले नै शिशुको शारीरिक अवस्था निर्धारण गर्छ ।

यस्तोमा आफूलाई मनपर्ने खानेकुरा बढी लिन सकिन्छ तर त्यसमा पोषणतत्वको मात्रा भने सन्तुलित बनाउन आवश्यक छ ।  गर्भवती महिलाले फोलिक एसिड, आइरन, क्याल्सियम, आयोडिन र ओमेगा ३ फ्याटी एसिड जस्ता तत्वले समग्र बच्चाको विकासमा भूमिका खेल्छ ।  

– सामान्यतः गर्भवती महिलाले अरू वेलाभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । माछा, मासु, अन्डा, बदाम तथा गेडागुडीजस्ता प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । साथै, दूध, दहीजस्ता क्याल्सियमयुक्त परिकारसमेत पर्याप्त मात्रामा सेवन गर्न आवश्यक हुन्छ । 

– कार्बोहाइड्रेटयुक्त खाद्यान्न तथा आवश्यक मात्रामा चिल्लो खानेकुरा खान आवश्यक हुन्छ । घिउजन्य वस्तुले तौल बढाउन सक्ने भएकाले थोरै तर नियमित सेवन गर्नुपर्छ । घिउजन्य पदार्थबाट अन्य खानेकुराभन्दा बढी क्यालोरी प्राप्त हुन्छ, जुन गर्भवतीका लागि खाना आवश्यक छ ।

– सफा, स्वच्छ र ताजा खानेकुरा खानुपर्छ । यस्तो अवस्थामा अझ प्रशस्त मात्रामा झोलिलो पदार्थ खाने । गर्भवतीले प्रशस्त मात्रामा मौसमी फलफूल तथा तरकारी खानुपर्छ । सम्पूर्ण खानेकुराको कम्तीमा पनि पाँच भागको एक भाग फलफूल वा तरकारी हुन आवश्यक छ । यसैगरी, गर्भवती महिलाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ, जसले आमा र बच्चाको शरीरमा अक्सिजनको मात्रा सन्तुलन गर्दछ ।

– गर्भवतीले आवश्यक मात्रामा मौसमी फलफूल खानुपर्दछ । जुनसुकै खानेकुरा पनि पखालेर वा राम्ररी सफा गरेर मात्रै खानुपर्छ । यदि स्वस्थ खानेकुरा सेवन गर्ने हो भने अतिरिक्त भिटामिन लिनुपर्दैन । 

– गर्भावस्थामा कतिपय खानेकुरा खानुहुँदैन । यस्ता खानेकुराले हानि पनि गर्न सक्छ । यस्तो वेला चिकित्सकको सल्लाहअनुसार सीमित औषधि सेवन गर्नुपर्छ । आफैँले जथाभाबी औषधि खाए गर्भमा रहेको भ्रूणमा नकारात्मक असर पनि पुग्न सक्छ । 

– यो अवस्थामा सजिलै ब्याक्टेरियाले आक्रमण गर्न सक्ने भएकाले बजारमा राखिएका खानेकुरा खानुहुँदैन । फास्ट फुड र ड्राइफुड सकेसम्म नखाने । अल्कोहलजन्य पेयपदार्थ, चुरोट र सुर्तीजन्य वस्तुको सेवनले बच्चालाई हानि गर्दछ । यसबाहेक काँचो मासु र काँचो अन्डा पनि हानिकारक छ ।