सुनको मूल्यमा लगातार गिरावट

काठमाडौँ, ३ असोजः सुनको मूल्य आज थप आठसय रुपैयाँ घटेको छ। आज सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो पनि सुनको मूल्य घटेको थियो। गएको मंगलबार प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको सुनको मूल्य हिजो थप तीन सय रुपैयाँ सस्तिएर एक लाख ५६ हजार चार सयमा झरेको थियो।  

सुन आज थप आठसय रुपैयाँ सस्तिएको हो। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ थियो। 

गएको भदौ अन्तिम दिन (भदौ ३१ गते) सुन १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। 

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो पनि भाउ घटेर एक हजार ८ सय ९० रुपैयाँमा झरेको चाँदीको मूल्य आज थप १० रुपैयाँ घटेर एक हजार ८ सय ८० रुपैयाँमा झरेको छ।