शेख हसिनाको ठेगानालाई नयाँ दिल्लीले गोप्य राख्नुकाे कारण के हाे?

काठमाडौँ,  ३ असोज : गत महिना विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि बंगलादेशकी तानाशाही नेतृ देश छाडेर भाग्न बाध्य हुनुपर्‍यो। त्यसयता नयाँ दिल्लीका रात्रिभोजहरूमा एउटा चर्चा हुने गरेको छ– शेख हसिना कहाँ छिन्?

अगस्ट ५ मा प्रदर्शनकारीहरू उनको निवासमा पस्नुअघि हसिना राजीनामा दिएर बंगलादेशी सेनाको विमानमा भारतको गाजियाबादनजिकैको हवाइ अड्डा पुगिन्। नरेन्द्र मोदीको सरकारले उनी भारतमा रहेको पुष्टि गरेको छ। तर, थप जानकारी दिएको छैन। तर, उनको चर्चा बन्द भएको छैन।

भारतका उच्चवर्गका मानिसहरूले अनेकखालका दाबी गरेका छन्ः सत्ताच्यूत हसिना भारत सरकारको ‘सेफ हाउस’मा बसिरहेकी छन्। उनी छोरी सइमा वाजेदको साथमा बसिरहेकी छन्, जो जनवरीदेखि दिल्लीमै बसेर विश्व स्वास्थ्य संगठनमा काम गरिरहेकी छन्। वा, दिल्लीको लोधी गार्डेन क्षेत्रमा आफ्ना सहयोगीहरूको साथमा टहलिँदै गरेको देखिइन्। 

यस्ता दाबीका विश्वसनीयताको तह पनि अनेक छन्। सत्तामा हुँदा हसिनालाई आडभरोसा दिएको मोदी सरकार भने यसबारे शालीन तवरले मौन छ। दिल्लीका स्थानीय र विदेशी प्रेसले पनि सत्तापलटपछि हसिनाको पहिलो साक्षात्कार पाइएला भन्ने देखाउन छाडिसकेका छन्।

यसका केही कारण छन्। बंगलादेशमा गठित मोहम्मद युनुसको सरकारले सयौँको हत्यामा हसिना जिम्मेवार रहेको आरोप लगाएको छ। भारत र बंगलादेशबीच सुपुर्दगी सन्धि छ। २०१३ मा हसिनाकै सरकारले हस्ताक्षर गरेको। जसलाई सिद्धान्ततः नयाँ सरकारले उनको गिरफ्तारीका लागि प्रयोग गर्न सक्छ।

‘सन्धिअनुसार हामी उनको सुपुर्दगीको माग भारतसमक्ष गर्न सक्छौँ,’ युनुस सरकारका कानुनमन्त्री आसिफ नजरुलले भनेका छन्, ‘अहिलेलाई भने भारतले उनलाई बंगलादेशमा अस्थिरता फैलाउन अनुमति नदेला भन्ने अपेक्षा हामी गर्छौँ।’

पछिल्लो समय हसिनाको अभिव्यक्ति भन्दै प्रेसमा आएका विवादित बयानपछि युनुस आफैँले भनेका थिए, ‘यदि बंगलादेशले फिर्ता नबोलाउन्जेल भारत उनलाई राख्न चाहन्छ भने राखोस्, तर उनी चुप रहने सर्तमा।’

भारतले यो क्षेत्रका नेताहरूलाई शरण दिने गरेको इतिहास छ। चीनले १९५९ मा तिब्बत कब्जा गरेपछि दलाइ लामा भारतमा बसे। लामाले राजनीतिक मामिला निर्वासित सरकारलाई हस्तान्तरण गरेका छन्, जुन भारतबाटै सञ्चालित छ। तर, उनले हालै अमेरिकी संसदीय टोलीलाई भेटे। जसले बेइजिङलाई क्रुद्ध तुल्यायो। विश्लेषकहरूका अनुसार मोदी सरकारको सहमतिबेगर यस्तो भेट सम्भव थिएन।

अफगान नेता मोहम्मद नाजिबुल्लाहको परिवार पनि १९९२ मा भागेर भारत आएको थियो। उनकी पत्नी फतना नाजिब र सन्तानले अधिक समय भारतमै बिताउने गरेको बताइन्छ। नाजिबुल्लाह आफैँचाहिँ भागेनन्। वर्षौंसम्म राष्ट्रसंघीय भवनमा बसेका उनलाई १९९६ मा तालिबानले सडक बत्तीको खम्बामा झुण्ड्याएर मारेको थियो।

हसिनाले आफैँ पनि बहिनी रेहनाको साथमा १९७५ पछि कयौँ वर्ष भारतमा शरण लिएकी थिइन्। जतिबेला उनका पिता शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्य सैन्य कूका क्रममा मारिएका थिए।

‘त्यसरी छिमेकबाट नेताहरू भारत आएका कयौँ उदाहरण छन्,’ मनमोहन सिंहको पालामा विदेशसचिव रहिसकेका शिवशंकर मेनन भन्छन्, ‘भारतले सधैँ उनीहरूलाई बस्ने अनुमति दिएको छ। र, अधिकांश मामिलामा हाम्रो इच्छाको सम्मान गर्दै उनीहरू राजनीतिक गतिविधिबाट टाढा बस्ने गर्छन्।’

भारतको राजनीतिक वृत्तमा हसिनालाई व्यापक समर्थन छ। उनलाई इस्लामिक अतिवादविरुद्धको मजबुत पर्खालका रूपमा हेरिन्छ। र, बंगलादेश स्वतन्त्रतामा उनको बुवाले खेलेको भूमिकाका कारण सम्मानका साथ हेरिन्छ। जुन युद्धमा इन्दिरा गान्धीको सरकारले ठूलो मानवीय क्षतिको जोखिम मोल्दै बंगलादेशलाई साथ दिएको थियो।

हसिनालाई हटाएर युनुसलाई सत्तामा ल्याउनु अमेरिकाको जोडबलमा भएको सत्ता परिवर्तन हो, जसले १९७१ मा पाकिस्तानको पक्ष लिएको थियो भन्ने सिद्धान्तलाई मोदी समर्थक मात्र होइन, भारतका धेरै मानिसले विश्वास गरेका छन्।

भारतमा हसिनाको बसाइको यही संवेदनशीलताका कारण उनको ठेगानालाई नयाँ दिल्लीले गोप्य राख्न चाहेको विश्लेषकहरूको भनाइ छ।

‘यो निकटताबाट सिर्जित समस्या हो। र, छिमेकको मामिला नाजुक हुन्छ,’ मेनन भन्छन्, ‘दुनियाँको अर्को हिस्साको मुलुकसँग व्यवहार गरेजस्तो होइन।’ फाइनान्सियल टाइम्सबाट