मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, तीन गम्भीर घाइते

कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका सोही गाउँपालिकाको वडा नं ४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नं ३ निवासी १९ वर्षीय वसन्त थारुको उपचारका क्रममा आज राति मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायव निरीक्षक भद्रसिंह वलीले जानकारी दिनुभयो । 

रामशरणले चलाएको भे १२ प ३१९५ नंको मोटरसाइकल र वसन्तले चलाएको भे १२ प ४८२८ नंको मोटरसाइकल एकापसमा जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए ।  दुवै जनाको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा आज राती मृत्यु भएको हो । 

दुर्घटनामा रामशरणले चलाएको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका-४ निवासी ३८ वर्षीय अजय थारु र वसन्तले चलाएको मोटरसाइकलमा सवार वडा नं ३ खैरनी निवासी सञ्जय थारु र सङ्गीन थारु घाइते हुनुभएको छ । घाइतेहरूको  शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।