रविमाथि सहकारी मुद्दामा कारबाही प्रक्रिया सुरु गरे रास्वपाले सडक आन्दोलन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सडक आन्दोलनका लागि तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्। बुधबार सकिएको केन्द्रीय परिषदको प्रथम भेलाको अन्तिम सत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो निर्देशन जारी गरेका हुन्।

‘सरकारका गलत निर्णय र क्रियाकलाप तथा ठूला दलले संसदीय बल प्रयोग गरेर गर्न सक्ने प्रहारविरूद्ध एवं जनाधिकारका पक्षमा अब चाहिँ सडकमा उत्रिनुपर्ने हुन सक्छ भन्ने तयारीमा रहने। जनाकर्षणका लागि सडक लक्षित अभियानात्मक कार्यक्रम बढाउने। सडक केन्द्रित गैरराजनीतिक अभियान र मुद्दामा ऐक्यबद्धता जनाउँदै नेताहरूको व्यक्तिगत उपस्थिति र सक्रियता बढाउने,’ रास्वपाले पारित गरेको रविको राजनीतिक दस्तावेजमा उल्लेख छ।

‘वैशाखका लागि प्रस्तावित महाधिवेशनले यि तीनवटै मोर्चामा सशक्त उपस्थितिको नीति, योजना र कार्यक्रम बनाउनेसमेत प्रतिवेदनमा भनिएको छ।सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले सहकारीको रकम अपचलनमा रविमाथि कारबाही सिफारिस गरेकै बेला रास्वपाले सडक आन्दोलनका लागि तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएको हो।

यसअघि नै रास्वपाले सहकारी ठगीको आरोपमा रविले क्लिनचिट पाइसकेको दाबी गर्दै आएको छ। तर समितिमा सभापतिको भूमिका निभाएका सांसद सूर्य थापा भने रास्वपा र रवि लामिछानेलगायतले आफूहरूले दिएको प्रतिवेदनको आफूखुशी गतल व्याख्या गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उता मन्त्रिपरिषद बैठकले सहरकारी ठगीसम्बन्धी संसदीय समितिले बनाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई पठाउने निर्णय गरेको हो।