अफगानिस्तानकाे दक्षिण अफ्रिकामाथि ओडिआईमा ऐतिहासिक जित

अफगानिस्तानले दक्षिण अफ्रिकामाथि ओडिआई खेलमा ऐतिहासिक जित हात पारेको छ ।

दक्षिण अफ्रिकासँग पहिलो पटक ३ खेलको ओडिआई सिरिज खेलिरहेको अफगानिस्तानले पहिलो खेलमा ६ विकेटको जित हात पारेको हो । अफगानिस्तानले कुनै पनि सिनियर क्रिकेट खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको यो पहिलो पटक हो ।

युएईको शारजहामा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको सामान्य लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानको ऐतिहासिक जितमा गुलबदिन नैबले २७ बलमा नट आउट ३४ तथा अजमततुल्लाह ओमारजाइले ३६ बलमा नट आउट २५ रन जोडे ।

कप्तान हशमतुल्लाह शाहिदी र रियाज हसनले समान १६ रन बनाए । दक्षिण अफ्रिकाका लागि विजोन फर्टुनले २ तथा एडेन मारकम र लुंगि एन्गेडिले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ३३.३ ओभरमा १ सय ६ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाका लागि वायन मुल्दारले ८४ बलमा सर्वाधिक ५२ रन जोडे । विजोन फर्टुनले १६, टोनी डि जोर्जीले ११ तथा क्लेन भिरेनले १० रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अफगानिस्तानका लागि फजल-हक फारुकीले ४, अल्लाह गजान्फरले ३ तथा राशिद खानले २ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार रहेको छ ।