दशैं लक्षित अग्रिम टिकट खुलाउने बारे छलफल

काठमाडौँ, २ असोज : दशैं लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ । चाडपर्वको समयमा ठुलो संख्यामा यात्रुहरु काठमाडौबाट बाहिरिने र केहि दिन लगत्तै फर्किने भएकाले त्यसस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन मन्त्रीको अग्रसरतामा छलफल भएको हो । 

बुधबार मन्त्रालयमा आयोजीत सरोकारवालाहरुको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रुपमा घर पु¥याउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो । सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन उहाँले निर्देशन दिनु भयो । चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीहरुमा सुरक्षा प्रवन्ध दर्विलो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको भन्दै मन्त्री दाहालले भय, त्रास र ठगी रहित यात्राको प्रवन्ध मिलाउन सम्वद्ध सवै क्षेत्र लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधिन सडकहरुमा समेत खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रवन्ध गर्ने लगायतका काम भई रहेको बताउनुभयो । विशेष परिस्थिती बाहेक २ घण्टा भन्दा बढि सडक जाम हुन नदिईएको भन्दै उहाँले चाडपर्व नजिकिएसँगै यस कार्यलाई थप प्राथमिकतामा राखिएको जनाउनुभयो । यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिईएको बताउनुभयो । 

प्रहरी बरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाईनै लक्षित गरि सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानहरुमा चेकजाँचको व्यवस्था मिलाईएको र बढि यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रवन्ध समेत मिलाईएको बताउनुभयो । कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर लगायत व्यवसायीहरुले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिनुभयो ।