सरकारले गरेको राम्रो काम केही देखिएको छैन , तीन दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भइरहेको छ । उक्त छलफलमा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीले सरकारको कडा आलोचना गरेका छन् ।

प्रदेश सभामा बोल्दै माओवादीका सांसद गणेश प्रसाद उप्रेतीले भ्रष्टाचारीलाई जेलको चिसो छिँडीमा कोच्ने अभियान प्रचण्ड सरकारले जारी राख्दा दुई ठुला दलको नेता पनि पुग्ने भएपछि त्यो सरकार ढालिएको आरोप लगाए ।उनले कोशी प्रदेश सरकार यतिबेला केन्द्र सरकारको लाचार छाया बनेको जिकिर गरे । ‘जनविरोधी केन्द्र सरकारको लाचार छाया बनेको यो सरकारलाई हामीले कसरी विश्वास गर्नु ? भ्रष्टहरूद्वारा निर्मित यो सरकारलाई कुनै पनि सचेत नागरिकले विश्वास गर्न सक्दैनन् । यो अप्राकृतिक पनि छ,’ उप्रेतीले भने ।

सत्ता पक्षकै सांसद अनशनमा बस्ने, कोही सरकारमै नजाने गरेको जिकिर गर्दै उनले मुख्यमन्त्रीलाई प्रश्न गरे, ‘कसरी मिलाउनु हुन्छ ?’ उप्रेतीले माओवादी आन्दोलनलाई ‘हिंसा’ भन्ने एमाले नेतृत्वको सरकारले विश्वासको मत मत कसरी मागेको भनी प्रश्न गरे । ‘माओवादी जनयुद्धलाई हिंसा भन्नुहुन्छ अनि आज विश्वासको मत कसरी माग्नुहुन्छ ?,’ उप्रेतीले भने, ‘नेकपा एमालेका साथीहरूलाई म पार्टीको नाम सम्झाउन चाहन्छु । तपाईंहरूले लेनिनको अक्टोबर क्रान्तिलाई हिंसा भन्नुहुन्छ कि के भन्नुहुन्छ ? माओको क्रान्तिलाई के भन्नुहुन्छ ? यदि त्यसलाई पनि हिंसा नै भन्नुहुन्छ भने पार्टीको नाम परिवर्तन गर्नुहोस् ।’

उनले कांग्रेस र एमाले मिलेर सरकार बनेपछि राष्ट्रिय रूपमा स्थापित स्क्यान्डलका फाइल हराउन थालेको दाबी गरे । उनले भने, ‘ती स्क्याण्डलको छानबिनमा सहभागी प्रहरी अफिसरहरूलाई हटाइएको छ । त्यसो भएको हुँदा जतिसक्दो छिटो यो सरकारको विघटन भएमात्रै देश र जनताको भलो हुन्छ ।’

यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले संसद कार्यपालिकाको छाया बन्न नसक्ने बताए । राईले सरकारलाई समर्थन गर्नुपर्ने कुनै कारण नदेखिएकाले र आवश्यकता नभएको पनि दाबी गरे ।

‘सरकारले गरेको राम्रो काम केही देखिएको छैन । हामी पक्ष र विपक्षमा मत नहाल्दै बरु नो भोट गर्छौं,’ उनले भने । राईले जनपक्षीय काम अघि बढाउन पूर्वमुख्यमन्त्रीले अनशन बस्नुपर्ने अवस्था आएको भन्दै सरकारलाई खास समर्थन गर्न नपर्ने बताए । उनले आफूहरू विपक्षमै बस्ने जानकारी दिए ।

राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको दाबी गरे । ‘अहिलेको गठबन्धन अप्राकृतिक छ । एउटा कम्युनिस्ट पार्टी, अर्को प्रजातान्त्रिक पार्टी छ । यो गठबन्धन कसरी बन्यो ? दुवै पार्टी जनइच्छा विपरीतको बद्नियतपूर्ण गठबन्धन बनाएका छन्,’ उनले भने, ‘यो गठबन्धन अर्को निर्वाचनसम्म चलोस् । अप्राकृतिक भएपनि चलोस् । कलियुग प्रारम्भ भएको चर्चा छ । कलियुगमा अप्राकृतिक नै हुन्छ ।’ उनले भ्रष्टाचार बढेको, ठुला दलका ठुला नेता नै भ्रष्टाचारीको दलदलमा फसेको दाबी गरे । ‘सहकारी, एनसेल, वाइडबडी काण्ड, भुटानी शरणार्थी बनाएर नेपालीलाई बिक्री गरेको कुरा हेर्दा त्यो पुष्टि हुन्छ,’ उनले भने ।