बालेनसँग मुख जोतिरहेका ओली र दाउ हेरिरहेका प्रचण्ड

काठमाडौँ, २ असोजः यतिखेर देशका प्रधानमन्त्री एउटा नगरको मेयरसँग मुख जोतिरहेका छन् । सार्वजनिक रुपमा छताछुल्ल भइरहेका विवाद र भनाभन हेर्दा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र देशका प्रधानमन्त्री केपी शर्मा ओली आमनेसामने देखिएका छन् ।

दुवै जना पदीय हिसाबले कत्ति पनि नमिल्ने स्तरमा झरेर आरोप–प्रत्यारोपमा उत्रिएका छन् । अझ ओलीलाई हेर्ने हो भने त उनी देशको प्रधानमन्त्री होइन, एउटा विपक्षी दलको नेताजस्तो भएर प्रस्तुत हुँदै छन् । 

प्रधानमन्त्री ओली र महानगर प्रमुख बालेनबीच बिग्रँदो सम्बन्धको फाइदा लिन सकिन्छ कि भनेर दाउ हेरेर बसेका छन्, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । प्रचण्डको बुझाइ छ कि आउँदो चुनावमा एक्लाएक्लै चुनाव लड्ने भनेको कांग्रेसको मत रवि लामिछानेको रास्वपाले काट्नेछ भने एमालेको मत बालेनले काट्नेछ । अघिल्लो चुनावमा पनि लगभग यही प्रवृत्ति देखिएको थियो । दुई नयाँ प्रकारका शक्तिले दुवै पुराना र ठूला दलको मत काटिँदा आफूलाई फाइदा हुने प्रचण्डको आकलन छ । 

यति मात्र होइन, ओलीसँग सम्बन्ध बिग्रँदै जाँदा बालेन पनि आफ्नो सुरक्षा र अस्तित्वका लागि कुनै न कुनै शक्ति आड लाग्नुपर्ने अवस्था आउन सक्नेछ । बालेनसँग अहिलेसम्म आफ्नै कुनै संगठन छैन । संगठन चलाउने सुरसार पनि गरेका छैनन् । त्यसैले संगठन आवश्यक परेमा माओवादी साथ दिन तयार हुने गरी प्रचण्ड लागेका छन् ।

ओली र बालेनबीच शक्तिसंघर्ष जति धेरै चर्कियो, बालेनसँगको सहकार्यको सम्भावना उति नै धेरै हुने प्रचण्डले बुझेका छन् । त्यसैले परोक्ष रुपमा उनी दुवै पक्षलाई उचाल्नु र द्वन्द्व बढाउनुमा आफ्नो फाइदा देखिरहेका छन् ।

हुन त प्रचण्ड नेतृत्वको माओवादीको संगठन पनि देशव्यापी खस्किएको छ । सेवा, सुविधा र अवसर जति परिवारमा केन्द्रित गरेपछि माओवादी छाड्ने क्रम बढ्दो छ । हालै तराईको एउटा जिल्लामा प्रचण्डको उपस्थितिलाई जोडदार बनाउन त्यहाँका नेता गिरिराजमणि पोखरेलले केही एमाले कार्यकर्ता भेला पारेर आफ्नो पार्टीमा प्रवेश गराएका थिए । प्रचण्डले फूलमाला र अबिर पहिराएको आधा घण्टामै ती कार्यकर्ताहरु आफ्नै पार्टीमा फर्किए । उनीहरुले प्रचण्डको हाउभाउ नै मन नपरेको र भाषणमा पनि विश्वास नलागेको प्रतिक्रिया दिएका थिए । 

प्रचण्ड आफ्नो पार्टीको यो हालत देखेर आत्तिएका छन् । आउँदो चुनावमा कुन क्षेत्रबाट उठ्ने भन्ने चिन्ता एकातिर छ । अर्कोतिर चुनावमा जान एउटा बलियो शक्तिको आड नभई अस्तित्व नै समाप्त हुने डर अर्कोतिर छ । यस्तो बेलामा बालेनजस्तो पात्रलाई समर्थन गर्दा आफ्नो पार्टीको जनमत बढ्ने विश्वास उनले लिएका छन् ।

यसअघि उनले कुलमान घिसिङलाई काठमाडौँबाटै चुनाव उठाउन खोजेका थिए । तर, व्यापारी दिमागका कुलमानले प्रचण्डको पार्टीबाट चुनाव उठ्दा घाटाबाहेक केही देखेनन् । प्रचण्डको बलमा विद्युत प्राधिकरणको जागिर खाइरहनुमै उनले भलो देखे । आउँदो चुनावसम्ममा कुलमानको पनि पदावधि सकिएर जागिरविहीन भइसक्नेछन् । उनले मानेमा प्रचण्डले टिकट दिएर चुनावी मैदानमा अवश्य पठाउनेछन् । 

यसरी लोकप्रिय अनुहार भेला पारेर भए पनि प्रचण्ड आगामी चुनावमा आफ्नो अस्तित्व जोगाउन सकिन्छ कि भनेर दाउ हेरेर बसेका छन् । आफ्नो स्थान विस्तार गर्न नसकिने र भएको पनि भत्किँदै जाने अवस्था देखेपछि उनी बालेन–केपी द्वन्द्वलाई उत्कर्षमा पुगेको हेर्न चाहन्छन् ।

ताकि बालेनले एमाले र ओलीलाई सक्दो क्षति गरोस् र त्यसको फाइदा माओवादीलाई होस् । एमालेप्रति विकर्षित वाम झुकाव भएको मत आफ्नोमा आउने र वाम खेमाको प्रमुख दलको नेता आफू भइने बुझाइ प्रचण्डको निष्कर्ष छ ।