एन्ड्रिककाे रेकर्डमा रियल मड्रिडकाे जित

एन्ड्रिक रियल मड्रिडका लागि च्याम्पियन्स लिगका गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्दा टोलीले घरेलु मैदानमा स्टुटगार्टमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

१८ वर्ष ५८ दिनको उमेरमा ब्राजिलियन खेलाडीले क्लबका लिजेन्ड राउलले सन् १९९५ मा बनाएको रेकर्ड तोडेका हुन् । फेरेंकभारोसविरुद्ध गोल गर्दा राउल १८ वर्ष ११३ दिन उमेरका थिए ।

यो सिजन पाल्मेरासबाट रियल आइपुगेका स्ट्राइकर यसअघि ला लिगामा डेब्युमा गोल गर्ने टोलीका लागि सबैभन्दा कान्छो खेलाडी बनिसकेका छन् । उनले रियल भालाडोलिडविरुद्ध गोल गरेका थिए ।

मंगलबार राति भएको खेलको पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो । तर, दोस्रो हाफको सुरुवातमा नै रोड्रिगोको पासमा किलियान एम्बाप्पेले रियललाई अग्रता दिलाए । तर, ६८ औं मिनेटमा डेनिज उन्डाभले स्टुटगार्टका लागि बराबरी गोल फर्काए ।

खेल बराबरीतर्फ अग्रसर भइरहँदा लुका मोड्रिचको क्रसमा एन्टोनियो रुडिगरले गोल गर्दै रियललाई अग्रता दिलाए । इन्जुरी समयमा एन्ड्रिकले अर्को गोल थप्दै रियलको जित सुनिश्चित गरे ।

कार्लो एन्चेलोटीको टोलीले अब अर्को खेलमा लिलको सामना गर्नेछ भने स्टुटगार्टले स्पार्टा प्रागको आतिथ्य गर्नेछ ।