यी स्थानमा आज मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।

आज दिउसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भ(भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

आज राति कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।